0
प्रतिक्रिया
पोखरा । मच्छिन्द्र फुटवल क्लबले चौविसौँ आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा विजयी शुरुआत गरेको छ ।
आज भएको खेलमा मच्छिन्द्रले सशस्त्र प्रहरीको एपीएफलाई २-० गोलले पराजित गरेको हो । योसँगै मच्छिन्द्र क्वाटरफाइनल प्रवेश गरेको छ ।
मच्छिन्द्रलाई जित दिलाउन आदित्य शाक्यले खेलको ७४औँ र विदेशी खेलाडी स्टेफेन कामाहाले ८१औँ मिनेटमा गोल गरका हुन् ।
मछिन्द्रले आज २०७८ मा आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा एपीएफविरुद्ध व्यहोरेको हारको बदलासमेत लिएको छ । प्रतियोगितामा बिहीबार एनआरटी र चर्च ब्वाइज युनाइटेडबीच खेल हुनेछ ।
प्रतियोगितामा १२ टिम सहभागी छन् । यसवर्ष मनाङ मर्स्याङ्दी भने सहभागी भएको छैन ।
प्रतियोगितामा भारत, यूके, उज्वेकिस्तानका टिमसहित नेपालका ए डिभिजन क्लबले प्रतिस्पर्धा गर्दैछ । समूह ‘ए’ तर्फ सहारासहित नेपाल पुलिस, एनआरटी, चर्च ब्वाइज यूनाइटेड, त्रिभुवन आर्मी क्लब र यूकेको ब्रिगेड ब्वाइज क्लब छन् ।
तीमध्ये यूके र आर्मीले सिधै क्वाटरफाइनल खेल्नेछन् । समूह ‘बि’ मा एपिएफ, मच्छिन्द्र, भारतको थन्डरबोल्ट नर्थ युनाइटेड, संकटा, थ्रीस्टार र उजेकिस्तानको ब्लाक बुल्स फुटबल क्लब छन् । थ्रीस्टार र उजेकिस्तानले पनि सिधैँ क्वाटरफाइनल खेल्ने प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङले बताए ।
प्रतियोगितामा एक करोड ५१ लाख आम्दानी, एक करोड ४२ लाख खर्च र आठ लाख ८० हजार बचत हुने आयोजक सहारा क्लबको अनुमान छ ।
यसवर्ष प्रतियोगिता विजेताले १२ लाख एक हजार र उपविजेताले छ लाख एक हजार रुपैयाँ नगद पुरस्कार प्राप्त प्राप्त गर्ने सहारा क्लबले जनाएको छ ।
तस्बिर : सुदर्शन रञ्जित
Copyright © 2024 | All rights reserved.