0
प्रतिक्रिया
पोखरा । नवप्रवेशी भारतको थण्डरबोल्ट नर्थ युनाइटेडले चौविसौँ आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा विजयी शुरुआत गरेको छ ।
आज भएको अन्तिम प्रिक्वाटरफाइनल खेलमा दुई पटक प्रतियोगिता जितेको संकटा क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै थण्डरबोल्ट क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
खेलको १७औं मिनेटमा संकटाका लागि मनिष पौडेलले गोल गरेक थिए । तर त्यसको १७ मिनेटपछि अर्थात खेलको ३४औँँ मिनेटमा थण्डरबोल्टले पेनाल्टीमार्फत बराबरी गोल फर्कायो । उक्त गोल टालाले गरेका थिए ।
त्यसपछि ७७औं र ८४औँ मिनेट थप दुई गोल गर्दै थण्डरबोल्टले जित सुनिश्चित गर्यो । खेलको ७७औँँ मिनेटमा करन राई र ८४औँ मिनेटमा आदर्श तामाङले गोल गरेका हुन् ।
थण्डरबोल्डले अब अन्तिम क्वाटरफाइनलमा उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीसँग खेल्नेछ ।
शनिबरको खेल नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लब युकेबीच पहिलो क्वाटरफाइनल खेल हुनेछ । पुलिसले उद्घाटन खेलमा आयोजक सहारालाई हराएको थियो ।
प्रतियोगितामा १२ टिम सहभागी छन् । यसवर्ष मनाङ मस्र्याङ्दी भने सहभागी भएको छैन । प्रतियोगितामा भारत, यूके, उज्वेकिस्तानका टिमसहित नेपालका ए डिभिजन क्लबले प्रतिस्पर्धा गर्दैछ । समूह ‘ए’ तर्फ सहारासहित नेपाल पुलिस, एनआरटी, चर्च ब्वाइज यूनाइटेड, त्रिभुवन आर्मी क्लब र यूकेको ब्रिगेड ब्वाइज क्लब छन् ।
तीमध्ये यूके र आर्मीले सिधै क्वाटरफाइनल खेल्नेछन् । समूह ‘बि’ मा एपिएफ, मच्छिन्द्र, भारतको थन्डरबोल्ट नर्थ युनाइटेड, संकटा, थ्रीस्टार र उजेकिस्तानको ब्लाक बुल्स फुटबल क्लब छन् । थ्रीस्टार र उजेकिस्तानले पनि सिधैँ क्वाटरफाइनल खेल्ने प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङले बताए ।
प्रतियोगितामा एक करोड ५१ लाख आम्दानी, एक करोड ४२ लाख खर्च र आठ लाख ८० हजार बचत हुने आयोजक सहारा क्लबको अनुमान छ ।
यसवर्ष प्रतियोगिता विजेताले १२ लाख एक हजार र उपविजेताले छ लाख एक हजार रुपैयाँ नगद पुरस्कार प्राप्त प्राप्त गर्ने सहारा क्लबले जनाएको छ ।
तस्बिर : सुदर्शन रञ्जित
Copyright © 2024 | All rights reserved.