0
प्रतिक्रिया
पोखरा । र्यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा वैदेशिक रोजगारीले नेपाली समाजमा पारेका प्रभावका बारेमा बहस गरेको छ ।
सोसाइटीले नेपाल प्रज्ञा-प्रतिष्ठानको सामाजिक शास्त्र विभागसँग सहकार्य गरी सो कार्यक्रम सम्पन्न गरेको हो ।
सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा सोसाइटीकै कोषाध्यक्ष ध्रुव केसीले ‘वैदेशिक रोजगारी : आर्थिक समृद्धि र सामाजिक सङ्कटका अन्तरकथा’ शीर्षकमा अवधारणापत्र प्रस्तुत गरेका थिए ।
वैदेशिक रोजगारीको क्षणिक प्रलोभनका कारण नेपालका गाउँमात्र होइन सहरसमेत रित्तिँदै गएको बताउँदै केसीले यसतर्फ राज्यले बेलैमा ध्यान दिनुपर्नेमा जोड दिए ।
‘बाध्यतामा विदेश जानेको कथा बेग्लै होला’ केसीले भने, ‘यहाँ त अधिकांश धनाढ्यका सन्तान विदेशमा छन् ।’
उनले रेमिट्यान्समा रमाउने राज्यसत्ता रहेसम्म आर्थिक समृद्धि सम्भव नहुने धारणा राखे ।
वैदेशिक रोजगारीका कारण आर्थिक रूपमा केही आर्जन भएको देखिए पनि सामाजिक विखण्डनको डरलाग्दो तथ्याङ्क रहेको जनाउँदै उनले यसतर्फ सबै सचेत हुनुपर्नेतर्फ ध्यानाकर्षण गराए ।
नेपाल प्रज्ञा-प्रतिष्ठान, सामाजिक शास्त्र विभागकी प्रमुख डा कौशिला रिसालले प्रज्ञा-प्रतिष्ठान वा र्यान्डम रिडर्स सोसाइटी जस्ता संस्थाले यस्ता विषयमा बौद्धिक बहस गर्दै जाँदा नीतिगत तहमा कुरा पुग्ने बताइन् ।
उनले समाजलाई अग्रगति दिनका लागि सामाजिक विषयमा स्वस्थ बहस गर्नुपर्ने धारणा राखिन् ।
वैदेशिक रोजगारीतर्फ नभई नेपालमै भएका सम्भावनातर्फ युवालाई आकर्षण गर्नुपर्ने बताउँदै उनले काम सानो ठूलो नहुने भएकाले सबै कामलाई सम्मान गर्ने वातावरण तयार भएमा विदेश लखेटिने वातावरण ह्रास आउने बताइन् ।
कार्यक्रममा दीपक अधिकारी, प्रकाश रिजाल, धर्मेश जयसवाल, सुदीप घिमिरे, राजेन्द्र पौडेल, दुर्गाबहादुर शाह ‘बाबा’, अनुराग अधिकारी, भरतमणि भट्टराई, नवराज आचार्यलगायतले वैदेशिक रोजगारीका अनुभव र सोसम्बन्धी धारणा राखेका थिए ।
सचिव नेपाल प्रकाश अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष गौरी तमूले स्वागत गरेकी थिइन् ।
सोसाइटीले हरेक महिनाको अन्तिम शनिबार कुनै पुस्तक वा विषयमा परिचर्चा गर्दै आएको छ ।
Copyright © 2024 | All rights reserved.