0
प्रतिक्रिया
पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह आज पोखरा आउँदैछन् । करिब दुई साताका लागि उनीसहित कोमल शाह र केही परिवारका सदस्यसमेत पोखरा आउन लागेका हुन् ।
शाह पोखरा आउनुका कारण खुलाइएको छैन । उनको दुई साता पोखरा बसाइलाई निकै महत्वका साथ हेरिएको छ ।
पूर्वराजा शाहसहित आज दिउँसो पूरानो पोखरा विमानस्थलमा उत्रिनेछन् । उनीहरुको नागरिक स्वागत मूल समारोह समिति तथा पश्चिमाञ्चलवासी नेपाली जनताले भव्य स्वागत गर्नेछन् । कार्यक्रमको संयोजन प्राडा जगमान गुरुङले गरेका छन् ।
नागरिक स्वागत मूल समारोह समिति सचिवालय संयोजक एवं राप्रपाका केन्द्रीय सदस्य अरुण गिरीले पूर्वराजा शाहको स्वागत भव्य हुने जानकारी दिए । शाहको स्वागतमा साविक पञ्चिमाञ्चलका सबै जिल्लाबाट नागरिक सहभागी हुनेछन् । गिरीले राष्ट्रिय झण्डा र फूलमाला लिएर शाहको स्वागतमा सहभागी हुन आग्रह गरे ।
पोखरा बसाईमा शाहले विभिन्न मन्दिर दर्शन र अवलोकन गर्ने उनले बताए । संयोजक गिरीले भने, व्यवस्था परिवर्तन, नेपालमा राजसंस्था पुनःस्थापना, वैदिक सनातन धर्म सापेक्ष हिन्दूराष्ट्र नेपाल पुनःस्थापना मुख्य मुद्दा भएको बताए ।
‘सबैभन्दा महत्वपूर्ण देश रहनुपर्यो, राष्ट्र रहनुपर्यो, राष्ट्र राजा र देशको पहिचान धर्मले जोगाउँछ, यो भएन भने हाम्रो अस्तित्व रहँदैन’, उनले भने, ‘हामीले नेपाली नाम राख्दैमा नेपाली भइँदैन ।’
हामीले हाम्रो कला, धर्म, संस्कार, संस्कृति र इतिहास संरक्षण नगरेसम्म नेपालीको अस्तित्व मेटिने उनले जिकिर गरे ।
उनले अहिलेको अग्रगमनकारी भनिएको व्यवस्थाले युवामा नैराश्यता छाएको भन्दै यसले देश अघि बढ्न नसक्ने उनले स्पष्ट पारे । युवामा आशाको दियो बाल्नका लागि राजसंस्था फर्काउनु अपरिहार्य रहेको उनले बताए ।
राजा भनेको शिर, अभिभावक र राष्ट्रिय एकताको प्रतीक भएको भन्दै गिरीले राजा भएमा मात्रै जनताले गौरव गर्न सक्ने बताए । नेपालमा राजसंस्था एकमात्र विकल्प भएको उनले स्पष्ट पारे ।
Copyright © 2024 | All rights reserved.