बैशाख ०४, २०८२, बिहीबार

आर्थिक विकास र राजनीतिक स्थायित्वका लागि कांग्रेस-एमालेको गठवन्धन सरकार : मुख्यमन्त्री


Advertisement Image
clock icon 2 months ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आर्थिक विकासका लागि राजनीतिक स्थायित्व आवश्यक भएकाले वर्तमान अवस्थामा कांग्रेसएमालेको सरकार बनेको बताए । सरकारमा स्थायित्व भएकाले व्यवसायिक हकहितका लागि अध्यादेश ल्याएको पनि उनले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको आठौँ प्रदेश सभाको पोखरामा उद्घाटन गर्दै उनले व्यवसाय क्षेत्रको सम्वर्द्धन र प्रवर्द्धनका लागि अध्यादेश ल्याएको भन्दै उनले व्यवसायीलाई लगानीमैत्री वातावरण सृजना भएको दाबी समेत गरे ।

मुख्यमन्त्रीले प्रदेश सरकारले निजी क्षेत्रको सम्बर्द्धन र प्रवर्द्धनका लागि प्रदेश सरकारले पनि व्यवसायीको आवश्यकताअनुरुप कानून ल्याउन र भएका कानूनसमेत संशोधन गर्न तयार रहेको बताए ।

मुख्यमन्त्रीले गण्डकी प्रदेशमा लगानीका लागि निजी क्षेत्रलाई आकर्षित गर्न र लगानीको पूर्ण सुरक्षा गर्न पनि सरकार तयार रहेको बताए ।

उनले लगानीको सुरक्षा र सुनिश्चितता तथा लगानीकर्ताको प्रतिफलका लागि सरकारले सहयोग गर्ने आश्वासन दिए ।

प्रदेश सरकारले पुँडीटार र लोकाहाखोलामा औद्योगिक ग्राम सञ्चालनमा ल्याउने भन्दै मुख्यमन्त्रीले प्रदेश सरकारले कृषि, पर्यटन र उद्योगलाई जोड दिएको स्पष्ट पारे ।

गण्डकी प्रदेशका पूर्वमन्त्री एवं प्रदेश सभा सदस्य सरस्वती अर्यालले व्यवसायीका साझा एजेण्डा सम्बोधन गरी अघि बढाएमा प्रदेश सरकारले छलफल गरी पूरा गर्ने आश्वासन दिइन् ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले पाथीभरामा केबलकार निर्माणमा भएको अवरोधले निजी क्षेत्र लगानी गर्न तर्सिएको बताए ।

महासंघका अर्का उपाध्यक्ष सुरथकृष्ण वैद्यले बैंकले व्याज घटाए पनि पुराना ऋणिको ब्याज घट्न नसकेकोमा चिन्ता व्यक्त गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले निजी क्षेत्र अझै गतिशील हुन नसकेको बताए ।

सरकारले पुँजीगत खर्च गर्न नसक्दा पनि मुलुकको आर्थिक सूचक सन्तोषजनक नभएको उनले बताए । उनले सम्पत्ति शुद्धीकरणको विधेयक पास हुन नसक्दा भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रत्याभूति हुन नसक्दा मुलुकको आर्थिक स्थिति धराशयी बन्न सक्ने बताए ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेलले निजी क्षेत्र अप्ठ्यारो अवस्थामा परिरहँदा अन्य क्षेत्र पनि प्रभावित भएको बताए ।

उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटामात्र निर्णयले विश्वको आर्थिक बजारमै हलचल आएको बेला राजनीतिक क्षेत्रबाट गरिने निर्णयमा विचार पुर्‍याउनुपर्नेमा सुझाव दिए ।

कार्यक्रममा उत्कृष्ट जिल्ला नगरमा गैंडाकोट र एसोसिएटमा सूर्य नेपाल प्रालिलाई मुख्यमन्त्रीले सम्मान गरेका थिए ।

कार्यक्रममा संस्थापक अध्यक्ष सञ्जीवबहादुर कोइराला, महासचिव सूर्य भुजेल, गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव तोयनाथ लम्साल, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ, महिला उद्यमी सीता गुरुङलगायतले बोलेका थिए ।

कार्यक्रम महासंघ गण्डकी प्रदेश अध्यक्ष अमृत भट्टचनको अध्यक्षतामा भएको थियो ।

Copyright © 2024 | All rights reserved.