0
प्रतिक्रिया
पोखरा । २४औँ आहा रारा पोखरा गोल्डकपको उपाधिका लागि विभागीय नेपाल पुलिस क्लब र विदेशी टोली उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी आज भिड्दैछन् । उपाधि चुम्ने दुवैको दाबी छ । दुवै टोली खेल जितेर इतिहास बनाउने उद्देश्यमा छन् ।
आहा राराको सर्वाधिक सफल टोली हो पुलिस क्लब । पुलिसले क्याराभान गोल्डकपदेखि हालसम्म छ पटक उपाधि चुमेको छ । पुलिस सातौँपटक च्याम्पियन बनेर इतिहास रच्ने दाउमा हुनेछ । पुलिसले विसं २०५८ मा क्याराभान गोल्डकप जितेको थियो । त्यसपछि विसं २०५९, २०६४, २०६५, २०६६ र विसं २०७४ मा आहा राराको उपाधि उचाल्यो ।
पाहुना टोली उज्वेकिस्तानको ब्ल्याक बुल्स पनि पहिलो सहभागितामा उपाधि जितेर घर फर्कन चाहन्छ । आफ्ना दुई खेल फराकिलो अन्तरले जितेकाले टोली फाइनलका लागि उत्साहित छ ।
नेपालमा पहिलोपटक फुटबल खेल्न आएको उज्वेकिस्तानी टोली शारीरिक र टेक्निकल दुवै हिसाबले उत्कृष्ट छ । यसअघिका दुई खेलमा उज्वेकिस्तानी टोलीले कुनै गोल नखाइकन सात गोल गरेको छ ।
पाहुना टोलीलाई रोक्नुपर्ने चुनौती पुलिससामु छ । पुलिसको टिमले समेत यसपटक अहिलेसम्म गोल खाएको छैन ।
फाइनलका लागि दुवै टोली एकअर्काप्रति सचेत छन् । दुवैले एकअर्काको खेललाई सम्मानसमेत गरेका छन् । फाइनल खेलअघिको पत्रकार सम्मेलनमा दुवै टोलीका प्रशिक्षक र कप्तानले फाइनल खेल रोचक हुने बताए ।
उत्कृष्ट फुटबल खेलेर फाइनल खेल रोमाञ्चक हुने उनीहरूको भनाइ छ ।
नेपाल पुलिस क्लबका प्रशिक्षक चेतन घिमिरेले फाइनलका लागि खेलाडी मानसिक रूपमा तयार रहेको बताएका छन् । उनले टोली उपाधि जितेर इतिहास बनाउने बताउँछन् ।
“पुलिस टिम ऐतिहासिक छ, भोलि हामीले अर्को इतिहास कोर्न बाँकी छ, उपाधि जित्छौँ भन्नेमा मानसिक रूपमा तयार छौँ”, प्रशिक्षक घिमिरेले भने ।
विपक्षी टोलीको खेल्ने शैली र शारीरिक प्रर्दशन समेत राम्रो रहेको भन्दै प्रशिक्षक घिमिरेले जारी प्रतियोगितामा तीनवटा खेल जितेकाले खेलाडी उत्साहित रहेका बताए ।
पाहुना टोली ब्ल्याक बुल्सका प्रशिक्षक अब्दुलाजितले उपाधि जित्ने गरी खेल्ने बताएका छन् । फाइनल खेलमा दुवैको उत्तिकै सम्भावना रहने भन्दै उनले पुलिसको ‘टिम स्पिरिट’ र ‘फाष्ट गेम’ प्रशंसायोग्य रहेको उल्लेख गरे ।
उनले भने, “फाइनल खेलमा दुवै टिमको ५०-५० सम्भावना हुन्छ, हामी जित्नका लागि मैदानमा उत्रिने छौँ, उपाधि जितेर फर्कन चाहन्छौँ ।”
पुलिसका कप्तान राम वाजीले टोलीमा धेरै युवा खेलाडी रहेको र उपाधि जित्नका लागि शतप्रतिशत मेहनत गर्ने उल्लेख गरे ।
“पुलिस टिममा अहिले धेरै नयाँ भाइहरु रहेका छन्, पहिलाजस्तो स्टार खेलाडी छैनन्, तर हामीले मैदानमा सकेको दिनेछौँ”, उनले भने ।
प्रतियोगितामा पुलिसले प्रि-क्वाटरफाइनल खेलमा आयोजक सहारा क्लब पोखरालाई १-० ले पराजित गरेको थियो ।
क्वाटरफाइनलमा ब्रिगेड ब्वाइज क्लब युकेलाई २-० र सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड क्लबलाई १-० गोलअन्तरले हराउँदै फाइनलमा स्थान बनायो ।
पाहुना टोली ब्ल्याक बुल्सले क्वाटरफाइनलमा भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेडलाई ३-० र सेमिफाइनलमा नेपालको थ्रीस्टार क्लबलाई ४-० को फराकिलो अन्तरले हराएको थियो ।
सहारा क्लब पोखराको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले छ लाख रुपैयाँ नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले स्कुटर पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा विधागत रूपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ नगद पुरस्कारसँगै ट्रफी पुरस्कार पाउने छन् ।
Copyright © 2024 | All rights reserved.