0
प्रतिक्रिया
पोखरा । पोखराको सराङकोटमा जारी श्रीमद्भागवत् ज्ञान महायज्ञ एवं धार्मिक पर्यटन महाउत्सव अन्त्यतिर आइरहँदा भक्तजनको सहभागिता ह्वातै बढेको छ ।
महायज्ञको छैटौं दिन सोमबार करिब २० हजार भक्तजन सहभागी थिए । सोमबार एकै दिन ४० लाख रुपैयाँ बढी दान संकलन भएको महायज्ञका कोषाध्यक्ष शिव कोइरालाले जानकारी दिए । योसँगै महायज्ञमा एक करोड ५३ लाख बढी दान संकलन भएको उनले बताए ।
सोमबार सय बढी आमा समूह, टोल विकास संस्था तथा अन्य संघसंस्थाले सहयोग गरेका हुन् । पोखराका विभिन्न वडा, छिमेकी पालिका, पर्वत, तनहुँ एवं धादिङबाट समेत विभिन्न संघसंस्था सराङकोट धाम पुगी दान गरेका थिए ।
यसअघि महायज्ञ स्थल तथा धाम गरी दुई ठाउँबाट दान संकलन गर्ने गरिएकोमा सोमबार सचिवालयबाट समेत गरी तीन स्थानबाट दान संकलन गरिएको थियो ।
‘सराङकोट निकै रमाइलो छ, यो जिउँदै स्वर्गको अनुभव गर्ने ठाउँ हो, त्यहाँ पुगेपछि जो कोहीको मन पनि लोभिन्छ र आकर्षित हुन्छ’, सोमबार यज्ञ स्थलमा भेटिएकी पोखरा-१६ बाटुलेचौरस्थित मैदान आमा समूहकी सदस्य अञ्जु थापाले भनिन्, ‘रमाइलो मात्र होइन, बेस्सरी रमाइलो भयो आज सराङकोट धाममा ।’
यज्ञमा सोमबार पोखरा-१८ निवासी गौमती जिसी परिवारले तीन लाख ४८ हजार नौ सय ९९, पोखरा न्यूरोड निवासी तीर्थबहादुर उर्मीला बस्नेत परिवारले दुई लाख ३३ हजार तीन सय ३३, पोखरा-८ निवासी कृष्णबहादुर कुँवर परिवारले पनि दुई लाख ३३ हजार तीन सय ३३ रुपैयाँ दान गरेका थिए ।
यस्तै पोखरा-१८ निवासी रमेश सुशीला थापा परिवारले एक लाख ११ हजार एक सय ११, बालहितकारी परियोजना पोखरा-१५ नयाँगाउँले एक लाख एक हजार एक सय ११, पुन समाज नदीपुरले ५३ हजार एक सय ११, पोखरा-१८ मेथलाङका गोविन्द तथा ईश्वर गौतम परिवारले ५१ हजार एक सय ५५, पोखरा-१८ तोरीपानीकी सुमित्रा तिमिल्सिनाको परिवारबाट ५१ हजार एक सय ५५, पोखरा-२२ पुग्दीभुम्दी निवासी चन्द्रकान्त बराल परिवारबाट ५१ हजार रुपैयाँ दान प्राप्त भएको प्रचारप्रसार समिति संयोजक कृष्ण थापाले जानकारी दिए ।
सोमबार यज्ञस्थलमा पुगेका पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले सराङकोट पवित्र भूमि भएको चर्चा गरे । सराङकोटको बृद्धि विकासमा महानगरपालिका प्रयत्नशील रहेको भन्दै उनले धार्मिक पर्यटकीय क्षेत्रअन्तर्गत आगामी दिनमा विश्व बैंकको सहयोगमा सराङकोटमा विभिन्न संरचना निर्माण हुने स्पष्ट्र पारे ।
यज्ञ सफलताउन्मुख भएको युवा परिचालन समिति संयोजक बलराम तिमिल्सिनाले दावी गरे । सोमबार वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले स्थानीय चण्डी मन्दिर उद्घाटन गरेका थिए ।
सराङकोटमा २०६१ सालदेखि गुरुयोजना बनाई विभिन्न संरचना निर्माण गरिएको छ । हालसम्म विशाल शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, १०८ शिवलिङ्ग, १०८ धारा, भ्यू टावर, बहुउद्देश्यीय भवन, भूमे कालिका, स्वागतद्वार निर्माण भएका छन् । ती संरचना निर्माणमा हालसम्म ३५ करोड बढी खर्च भइसकेको छ । सराङकोटमा अझै १५ करोडका संरचना निर्माण गर्ने समितिले लक्ष्य राखेको छ ।
महाउत्सवमा सामुहिक ब्रतबन्ध, लाख बत्ती बाल्ने, ग्रह शान्ति, रुद्री, चौरासी पूजा तथा संगीतमय भजन कीर्तन भइरहेको छ भने भागवत् भाष्कर पण्डित कमलनयन गौतमले कथा प्रवचन गरिरहेका छन् ।
Copyright © 2024 | All rights reserved.