बैशाख ०४, २०८२, बिहीबार

सराङकोट महायज्ञ सकियो, तीन करोड रुपैयाँ संकलन


Advertisement Image
clock icon 1 month, 1 week ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । सराङकोटमा भएको श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवं धार्मिक पर्यटन महाउत्सव बुधबार सकिएको छ । महायज्ञमा दुई करोड ८८ लाख बढी दान संकलन भएको प्रचारप्रसार उपसमिति संयोजक कृष्ण थापाले जानकारी दिए । 

यसअघि मंगलबारसम्म दुई करोड आठ लाख दान संकलन भएकोमा बुधबारमात्रै ८० लाख बढी दान थपिएको हो । योसँगै सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिले यज्ञमार्फत संकलनको लक्ष्य राखेको तीन करोड करिब पूरा भएको छ ।

महायज्ञको नियमित कार्यक्रमका अतिरिक्त पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यबाट त्यहाँ निर्मित बुहुउद्देश्यीय सामुदायिक भवनको उद्घाटन गरेका छन् ।

महानगर प्रमुख आचार्यले सराङकोट धामको रुपमा विकास भएकोमा खुशी व्यक्त गर्दै पोखरा भ्रमण वर्ष सफल बनाउन सराङकोट धामले भूमिका खेल्ने विश्वास लिए ।

‘अब पर्यटक हिमाल हेर्न, सूर्योदय र सूर्यास्तको अवलोकन गर्न मात्रै सराङकोट आउने होइन, यो अब कोटमात्रै रहेन, सराङकोटमा अन्य धेरै आयाम थपिएका छन्’, प्रमुख आचार्यले भने ।

प्रमुख आचार्यले सराङकोटमा निर्माण गर्न बाँकी संरचना बनाउन महानगरले सहयोग गर्ने विश्वास दिलाउँदै सराङकोट धार्मिक पर्यटकीय स्थल भएको औँल्याए ।

सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीले सबैको साथ सहयोगबाट महायज्ञ सफल भएको जनाउँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा सुनाए । 
‘वास्तवमै सराङकोट स्वर्गको टुक्रा हो, यसको हामी सबै मिली संरक्षण एवं प्रवद्र्धन गर्नुपर्दछ, त्यसैमा आम पोखरेलीको कल्याण छ’, उनले भने ।

यज्ञका सहअध्यक्षसमेत रहेका वडाध्यक्ष शिवप्रसाद तिमिल्सिनाले धेरै दानदाताको सहयोगबाट सराङकोट धाम सिञ्चित भएको स्पष्ट्र पार्दै उत्साहजनक सहभागिताका बीच यज्ञ सफल भएको धारणा राखे ।

कार्यक्रमका बीच प्रमुख वाचक भागवत् भाष्कर प. कमलनयन गौतमसहित सहयोगी विभिन्न संघसंस्था एवं व्यक्तिलाई सम्मान गरियो ।

महायज्ञमा कास्की, तनहुँ, पर्वत, स्याङजा, बाग्लुङ, म्याग्दी, धादिङ समेतबाट गरी करिव एक लाख ६० हजार भक्तजनले सहभागी जनाएको महायज्ञका महासचिव शमसेरबहादुर थापाले जानकारी दिए । यीमध्ये करिब ६० प्रतिशत अन्नपूर्ण केवलबारमार्फत तथा अन्य महायज्ञका निःशुल्क बस एवम् स्वस्र्फूत रुपमा सराङकोट धाम पुगेको आयोजकले जनाएको छ ।

सराङकोटमा वि.स २०६१ सालदेखि गुरुयोजना बनाई विभिन्न संरचना निर्माण गरिएको छ । हालसम्म विशाल शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, १०८ शिवलिङ्ग, १०८ धारा, भ्यू टावर, बहुउद्देश्यीय भवन, भूमे कालिका तथा भैरव मन्दिर, स्वागतद्वार निर्माण भइसकेका छन् ।

ती संरचना निर्माणमा हालसम्म ३५ करोड बढी खर्च भइसकेको छ । त्यहाँ अझै १५ करोडका संरचना निर्माण गर्ने समितिले लक्ष्य राखेको छ ।

यहि फागुन १४ गते महाशिवरात्रीको दिनदेखि सुरु उक्त सराङकोट यज्ञको यसअघि १७ फागुनमा राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका थिए ।

सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीको अध्यक्षतामा भएको समापन समारोहमा वडाध्यक्ष तिमिल्सिनाले स्वागत तथा महायज्ञका सचिव डिलबहादुर जिसीले कार्यक्रम संचालन गरे ।

Copyright © 2024 | All rights reserved.