0
प्रतिक्रिया
पोखरा । बेगनास युवा क्लबद्धारा आयोजित तेश्रो बेगनास कप सेभेन ए साईड फुटवल प्रतियोगिताको उपाधि मिक्की एफसी रामबजारले हात पारेको छ ।
बिहीवार सम्पन्न फाईनल खेलमा विनोद मेमोरियललाई १-० को गोल अन्तरले हराउँदै मिक्की एफसीले उपाधि हात पारेको हो । उपाधिसँगै मिक्कीले नगद रु १ लाख २५ हजार ५ सय ५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिएको मिक्की एफसीले पहिलो हाफको २० मिनेटसम्म कुनै गोल गर्न नसकेता पनि त्यसपछि थपिएको अतिरिक्त १ मिनेटको समयमा लिले गुरुङले उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै विनम गुरुङले डि बक्स भित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । त्यहि १ मात्र गोल नै मिक्कीका लागी उपधि जित्न निर्णायक बनेको हो ।
खेलको दोश्रो हाफपछि पनि दुवै टिमले प्राप्त गरेका राम्रा अवसरलाई सदुपयोग गर्न सकेनन । विनोद मेमोरियलका विकास परियारले उपलब्ध गराएको पासलाई अनुज भण्डारीले हेड गर्दै गरेको प्रयास गोल पोष्टको बारमा लागेर फर्किएको थियो ।
खेलको ३६ औं मिनेटमा विनोद मेमोरियलका अनुज भण्डारीलाई डबल ट्याकल गर्दै फल गरेपछि मिक्की एफसी को तर्फबाट एक मात्र गोल गर्न सफल विनम गुरुङ रेड कार्ड खाँदै मैदानबाट बाहिरिन पुगेका थिए । त्यसपछि मिक्की एफसी कमजोर अवस्थामा पुगे पनि बराबरी गर्नुपर्ने दवावमा रहेको मेमोरियलले कुनै गोल गर्न नसक्दा उपविजेतामा चित्त बुझाउनुपरेको छ ।
विनोद मेमोरियलले उपविजेताको उपाधिसँगै नगद रु ५५ हजार पाँच सय ५५ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा एन के क्लवले उत्कृष्ट अनुशासित टिमको उपाधिसँगै नगद रु ८ हजार प्राप्त गरेको छ भने मिक्की एफसीका अमिर गुरुङ उत्कृष्ट खेलाडी, विनम गुरुङ उच्च गोलकर्ता र सञ्जय ठकुरी उत्कृष्ट गोल रक्षक घोषित भएका छन ।
उनीहरुले उपाधिसँगै जनही रु ५/५ हजार प्राप्त गर्न सफल भएका छन ।
समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय फुटवल टोलिका कप्तान किरण चेमजोङले बेगनास सुन्दर पर्यटकिय स्थल भएको र यससँगै खेलकुदको पनि प्रशस्त सम्भावना रहेको बताए ।
Copyright © 2024 | All rights reserved.