0
प्रतिक्रिया
पोखरा । पोखरा-२७ स्थित त्रिवेणी इन्टरनेशनल कलेजमा स्पोर्टस् मिट शुरु भएको छ । कलेजका विद्यार्थीले विभिन्न १४ खेलका लागि प्रतिस्पर्धा गर्नेछन् ।
स्पोर्टस मिटको शुभारम्भ गर्दै कलेजका पूर्वअध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य बाबुराम गिरीले विद्यार्थीको शैक्षिक गुणस्तरसहित अन्य क्षेत्रमा भएको प्रतिभा मापनका लागि खेल आवश्यक रहेको बताए ।
उनले अध्ययनले ज्ञान र बौद्धिक क्षमता बृद्धि भए जस्तै खेलले विद्यार्थीका बीचमा रहेको फरक विधा र क्षमताको पहिचान हुने उल्लेख गरे ।
कलेज व्यवस्थापन समिति अध्यक्ष सुमन भट्टराईले त्रिवेणीमा अध्ययन गरेका विद्यार्थी रोजगारको जुनसुकै क्षेत्रमा पनि अब्बल बन्ने गरी तयारी गर्न आग्रह गरे ।
अध्यक्ष भट्टराईले योगले स्मरणशक्तिमा बृद्धि गराउन सहयोग पुर्याए जस्तै खेलले शारीरिक स्वस्थता र स्फुर्ति प्रदान गर्ने उल्लेख गरे ।
सहायक क्याम्पस प्रमुख डिल्लीराम पौडेलले बार्षिक तालिका अनुसार आयोजना गरिएको स्पोर्टस् मिटमा कलेजका पाँच सय विद्यार्थीले सहभागिता जनाएको बताए ।
कार्यक्रममा सञ्चारकर्मी नवराज सापकोटा, प्राध्यापक जीवन भण्डारी, विद्यार्थी कल्याणकारी समिति अध्यक्ष सुदीन मोहन भट्टराईलगायतले बोलेका थिए ।
स्पोर्टस् मिटमा महिला तथा पुरुष एकसय मिटर दौड, भलिबल, सटफुट, बलथ्रुसहितका १४ खेलमा प्रतिस्पर्धा गराईने सहायक क्याम्पस प्रमुख पौडेलले जानकारी दिए ।
व्यवस्थापन संकायतर्फ स्नातक र स्नाकोत्तर तहका छ सय भन्दा बढी विद्यार्थीले सहभागिता जनाउने स्पोर्टस् मिट फागुन २८ गते समापन हुनेछ ।
Copyright © 2024 | All rights reserved.