बैशाख ०४, २०८२, बिहीबार

ह्याण्डबल प्रतियोगिताका लागि समिति गठन


Advertisement Image
clock icon 1 month ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । प्रथम पोखरा कप राष्ट्रिय पुरूष ह्याण्डबल प्रतियोगिता सम्पन्न गर्न आयोजक समिति गठन गरिएको छ । गण्डकी प्रदेश ह्याण्डबल संघ र कास्की जिल्ला ह्याण्डबल संघको संयुक्त बैठकले प्रतियोगिताका लागि आयोजक समिति गठन गरेको हो ।

प्रतियोगिता गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजनामा तथा प्रदेश खेलकुद परिषद् गण्डकीको सहकार्यमा आगामी चैत ३ देखि ५ गतेसम्म पोखरामा हुँदैछ । प्रतियोगितामा प्राविधिक सहयोग कास्की जिल्ला ह्याण्डबल संघले गर्नेछ ।

संघका अध्यक्ष केशव पाठकको अध्यक्षतामा बिहीबार बसेको बैठकमा दक्षिण एशियाली ह्याण्डबल महासंघका उपाध्यक्ष तेजबहादुर गुरूङको संयोजकत्वमा सल्लाहकार समिति गठन गरिएको छ । समितिको सदस्यमा मोहन रेग्मी, दिलबहादुर गुरूङ, हरिप्रसाद पराजुली, रामबहादुर गुरूङ, शेरबहादुर गुरूङ, रत्नमान गुरूङ, खीमबहादुर गुरूङ, श्रीकृष्ण अधिकारी छन् ।

यस्तै समारोह व्यवस्थापन समिति संयोजकमा शान्ति थापा वैद्य, प्राविधिक समिति संयोजकमा गोपाल थापा, स्वास्थ्य समिति संयोजकमा विष्णुमाया गुरूङ, ट्रफी, पदक तथा प्रमाणपत्र संयोजकमा गिरमान गुरूङ, आवास व्यवस्थापन संयोजकमा चित्रबहादुर थापा, स्वयंसेवकमा तिलकबहादुर अधिकारी, मैदान व्यवस्थापनमा रणबहादुर गुरूङ, अर्थमा कृष्णसिंह बस्नेत (शान्त) रहेको गण्डकी प्रदेश ह्याण्डबल संघका महासचिव राजेन्द्र पहाडीले जानकारी दिए ।

प्रतियोगिता पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहल र पोखरा ह्याण्डबल एकेडेमीमा लिगकम नक आउटका आधारमा सञ्चालन हुनेछ । प्रतियोगितामा आयोजक गण्डकीसहित सबै प्रदेश र विभागीय टोलीको सहभागिता हुनेछ ।

प्रतियोगितामा विजेता टिमले एक लाख, उपविजेताले ५० हजार र तेस्रो हुने टिमले ३० हजार रुपैयाँ नगद पुरस्कारका साथ ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई जनही पाँच हजार नगद पुरस्कारसहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने अध्यक्ष पाठकले जानकारी दिए । प्रतियोगिताको सबै तयारी अन्तिम चरणमा पुगेको उनले बताए ।

Copyright © 2024 | All rights reserved.