0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका वडा नं ९ नयाँबजारस्थित नीति एकेडेमीको आयोजना र पोखरा महानगरपालिका वडा नं ६ को समन्वयमा डिजिटल मार्केटिङ तथा जेनेरेटिभ एआई टुल्ससम्बन्धी तालिम सकिएको छ ।
एक महिनासम्म सञ्चालन भएको तालिममा २६ जना विद्यार्थी सहभागी थिए । उनीहरुलाई नीति एकेडेमीका डम्मर खडायत र माधव पोखरेलले प्रशिक्षण दिएका थिए ।
समापन कार्यक्रम उद्घाटन गर्दै पोखरा-६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले अहिलेको जमाना डिजिटल मार्केटको रहेको र युवा पुस्ताको आवश्यकता, आर्थिक उन्नति र समृद्धिलाई पनि ध्यानमा राखेर तालिमका लागि नीति एकेडेकीसँग सहकार्य गरिएको बताए ।
विद्यार्थीले डिजिटल मार्केटिङ र एआईसम्बन्धी ज्ञान हासिल गर्नुका साथै तालिमपश्चात् आयआर्जनमा जोडिनेसमेत विश्वास व्यक्त गरे ।
वडाध्यक्ष भट्टराईले भने, ‘युवालाई स्वरोजगारयुक्त बनाउन तालिम आयोजना गरिएको हो, तालिममा सिकेका कुरा व्यवहारमा लागू गर्नुहोला, राष्ट्रका लागि समय अनुसारको दक्ष जनशक्ति बन्नुहोला ।
दिनमा यो भन्दा पनि बृहत तालिम ल्याउन आवश्यक हुन्छ भने पनि त्यसका लागि आफूहरु तयार रहेको उनले स्पष्ट पारे ।
पोखरा-६ की वडासदस्य शोभा जलारीले वडालाई प्रविधिसँग जोड्न तालिम आयोजना गरिएको र यसबाट विद्यार्थी निकै लाभान्वित भएको विश्वास व्यक्त गरिन् ।
उनले भनिन्, ‘विगतमा अन्य किसिमका धेरै तालिम आयोजना गरेका थियौँ, अहिले प्रविधिसँग सम्बन्धित तालिम सम्पन्न गरेका छौँ, भविष्यमा पनि अझ बढी प्रभावकारी र उपलव्धिमूलक कार्यक्रम गर्न तयार छौँ ।’
वडासदस्य वासुदेव बरालले विद्यार्थीले तालिममा सिकेका कुरा व्यवहारमा लागू गरेमा भविष्य उज्ज्वल हुने दावी गरे ।
एकेडेमीका अध्यक्ष माधव पोखरेलले एआईले निकै फड्को मारिसकेको अवस्थामा यसैसँग सम्बन्धित शिक्षा अपरिहार्य भएको महसुस गरी तालिम आयोजना गरिएको स्पष्ट पारे ।
तालिमले विद्यार्थीलाई धेरै कुरा सिकाएको अब उनीहरु व्यवसायिक बन्ने अध्यक्ष पोखरेलको विश्वास छ । उनले आगामी दिनमा पनि यस्तै व्यवहारिक तालिम सञ्चालन गरिने उनले प्रतिवद्धता जनाए ।
थ्रीस्टार टिचर एजुकेशन सेन्टर पोखराका सिनियर मोटिभेसनल स्पीकर (प्रेरक वक्ता) प्रदीप पराजलीले नीति एकेडेमीले समय सुहाउँदिलो तालिम आयोजना गरेकोमा खुशी लागेको बताए ।
एकेडेमीका अध्यक्ष पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रशिक्षार्थी सञ्जु विकले गरेकी थिइन् ।
साथै विद्यार्थी स्वेता कार्की, सुजैना जलारी, विष्णु विक, संयम परियार र सुमन परियारले तालिमको अनुभूति सुनाएका थिए । उनीहरुले आफूहरुका लागि यो भन्दा पनि वृहत तालिमको आवश्यकता भएको र यसका लागि पनि ध्यान दिन वडा कार्यालयलाई आग्रह गरेका थिए ।
कार्यक्रममा तालिम अवधिभरमा उत्कृष्ट भएका विद्यार्थीद्वय प्रसिद्ध परियार र संयम परियारलाई पाँच हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा आस्था सुनार, मल्लिका नेपाली, प्रसिद्ध परियार र संयम परियारले गीत र नृत्य प्रस्तुत गरेका थिए ।
नीति एकेडेमीले ग्राफिक डिजाइन, वेव डिजाइनिङ, डिजिटल मार्केटिङ, वेसिक तथा डिप्लोमा कम्प्युटर ट्रेनिङ, सफ्टवेयर डेभलपमेन्ट र आरजे एवं भीजे ट्रेनिङ गर्दै आएको छ । हालसम्म नीति एकेडेमीले करिब पाँच सय विद्यार्थीलाई शिक्षा प्रदान गरी रोजगार दिन सफल भएको छ ।
Copyright © 2024 | All rights reserved.