0
प्रतिक्रिया
पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाश बहादुर केसीले मन्त्रालयको परिपत्रअनुसार काम नगर्ने व्यवसायीलाई कारवाही गर्न निर्देशन दिएका छन् ।
मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठक तथा चालु आवको दोस्रो चौमासिक प्रगति समीक्षा कार्यक्रममा मन्त्री केसीले यस्तो निर्देशन दिएका हुन् । उनले काम नगर्ने निर्माण व्यवसायीको खोजी गरी निर्माण कार्य शुरु गराउन र काम नगरे कार्वाही गर्न निर्देशन दिए ।
‘चालु आर्थिक वर्षभन्दा अघि रोकिएका बहुवर्षीय नियमित योजना सञ्चालन गर्न बहानाबाजी, ढिलासुस्ती गरी निर्माण कार्य नगर्ने निर्माण व्यवसायीलाई खोजी गरी निर्माण कार्य शुरु गराउन निर्देशन दिन्छु,’ उनले भने ।
मन्त्री केसीले भने, ‘मन्त्रालयबाट गरिएको परिपत्र अनुसार काम अघि नबढाएमा निर्माण व्यवसायीलाई लिखित रुपमा कार्वाहीका प्रक्रिया अअघि बढाउनुस् ।’
चालु आवको वार्षिक विकास कार्यक्रममा समावेश योजनालाई समयमा सम्पन्न गर्न मन्त्रीले ताकेता गरे । कुनै योजनाको ठेक्का प्रक्रिया बाँकी भए चैत्र मसान्तभित्र ठेक्का सम्झौता गर्न उनको निर्देशन छ ।
मन्त्री केसीले भने, ‘हाल मन्त्रालयको भौतिक ४५ प्रतिशत र वित्तीय ३१दशमलव१५ प्रतिशत प्रगति भएको हुँदा कर्मचारीलाई सक्रिय बनाई वार्षिक गोष्ठीमा आउदा कम्तीमा ८० प्रतिशत प्रगति हासिल हुने गरी कार्य गर्न निर्देशन गर्दछु ।’
उनले चालु आवभन्दा अघिका एवं क्रमागत बहुबर्षीय योजनामा रकम विनियोजन न्यून भएको बताए । रकमान्तर भएका योजनामा तुरुन्त काम अघि बढाउनसमेत केसीले निर्देशन दिए ।
समस्याग्रस्त योजनाको सन्दर्भमा निर्माण व्यवसायीसँग छलफल गरी काम अघि बढाउन तथा ठेक्का तोड्न सिफारिस गर्ने गरी कार्य व्यवस्था मिलाउनसमेत उनले निर्देशन दिए ।
Copyright © 2024 | All rights reserved.