0
प्रतिक्रिया
पोखरा । पोखराको प्रतिष्ठित विद्यालय फिस्टेल एकेडेमीले आइबी वल्र्ड स्कुलको मान्यता पाएको छ । योसँगै एकेडेमी संघीय राजधानी काठमाडौं बाहिर आइबी वल्र्ड स्कुलको मान्यता पाउने पहिलो विद्यालय बनेको छ ।
एकेडेमीका संस्थापक प्राचार्य चिनु रानाभाटले पोखराको संस्थालाई अन्तर्राष्ट्रिय शैक्षिक केन्द्रका रूपमा स्थापित गर्न पाउँदा गर्व महसुस भएको बताए ।
पोखरा र समग्र गण्डकी प्रदेशमै विद्यार्थीका लागि नयाँ सम्भावनाको ढोका खोलेको विद्यालयले जनाएको छ । उनीहरूलाई विश्वव्यापी प्रतिस्पर्धामा अग्रगामी फड्को मार्न र विश्वसमुदायमा घुलमिल हुन सक्षम बनाउने दावीसमेत गरिएको छ ।
विद्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको, ‘फिस्टेल एकेडेमीले अन्तर्राष्ट्रिय स्नातक संगठनबाट अनुमति प्राप्त गरेको छ र यसले आफूलाई आधिकारिक आइबी वल्र्ड स्कुलका रूपमा स्थापित गराउन पाउँदा गर्व महसुस गरेको छ ।’
यो उपलब्धिले विद्यालय र समग्र पोखरालाई नै विश्वव्यापी शैक्षिक केन्द्रका रूपमा परिचित गराएको दाबी छ । यसले समुदायसँग सहकार्य गरी, स्थानीय मूल्य मान्यताको संरक्षण गर्दै अन्तर्राष्ट्रिय मापदण्डमा आधारित रहेर विश्वस्तरीय शिक्षा प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ ।
विश्वकै उत्कृष्ट मानिएको आइबी संस्थामा आवद्ध भएकाले यस विद्यालयका विद्यार्थीले अब सानै उमेरदेखि नै खोजमा आधारित, विश्वव्यापी मान्यताप्राप्त सबल शिक्षा प्राप्त गर्न सक्ने विद्यालयका निर्देशक एलिस रानाभाटको दावी छ ।
आइबी पाठ्यक्रमले जिज्ञासा, सिर्जनात्मकता, आलोचनात्मक सोच र करुणालाई पक्षपोषण गर्दछ भने विद्यार्थीलाई सक्रिय रूपमा जीवनभर सिकिरहने र आफूलाई जिम्मेवार विश्वव्यापी नागरिकका रूपमा स्थापित गर्न सक्ने बनाउँछ ।
यस उपलब्धिसँगै फिस्टेल एकेडेमी आइबी वल्र्ड स्कुल विश्वका एक सय ६० भन्दा बढी देशमा रहेका पाँच हजार सात सयभन्दा बढी आइबी वल्र्ड स्कुलहरूको सशक्त सञ्जालमा समाहित भएको छ ।
Copyright © 2024 | All rights reserved.