बैशाख ०६, २०८२, शनिबार

सम्पादकीय : नयाँ वर्षको शुभकामना


Advertisement Image
clock icon 5 days, 19 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

- विक्रम सम्वतका आधारमा मिति गणना गर्ने परम्परामा आधारित सबैका लागि नयाँ वर्ष २०८२ को आगमन भइरहेको छ । हरेक सम्वतको पहिलो दिनका रुपमा स्वीकार गरिएको महिनासँंगै त्यस वर्षलाई नयाँवर्षका रुपमा मनाउने परम्परा अनुुसार नेपालमा विक्रम सम्वत्का अनुुयायीले वैशाख १ गतेको दिनलाई नयाँवर्षका रुपमा मान्दै आएका छन् । अंग्रेजी क्यालेण्डर मान्नेहरूका लागि जनवरीको पहिलो दिनलाई नयाँवर्ष मान्ने चल्न रहेको छ । नेपालमा जातीय परम्पराका आधारमा विभिन्न समयमा नयाँवर्षका रुपमा विभिन्न पर्व मनाइँदै आएका छन् । यसरी मनाइने नयाँवर्षले हामीलाई उत्साह थप्ने र केही नयाँ जिम्मेवारी बोधका साथ प्रस्तुत हुन प्रोत्साहित गर्दै आएको छ । हरेक मानिसले जीवनको परिवर्तनका लागि केही गरुँ भन्ने भावना लिइरहेका हुन्छन् । तर, वास्तविक जीवनमा परिवर्तन ल्याउन मानिसलाई निकै कठिन हुन्छ । दुव्र्यसनीले भोलिदेखि मैले कुलत छोड्छु भन्छ तर उसले त्यो भूमिका निर्वाह गर्न सकिरहेको हुँदैन । सूर्तिजन्य पदार्थ मदिरा आदि सेवन गर्ने मानिसले मैले भोलिदेखि नै सूर्तिजन्य पदार्थको सेवन गर्दिन भन्ने सोंच बनाउँछ तर वास्तविक जीवनमा उसले त्यो लागु गर्न सकिरहेको हुँदैन ।

नयाँ वर्षको आगमनलाई कुरेर कैयौं मानिसहरू मैले मेरो जीवनको यो बाटो खराबपनलाई त्याग्छु भन्दै पर्खिबसेको पनि हुन सक्छ । यस्तै यस्तै अनेकन् भावनालाई पखाल्दै मानिसले घर समाज र देशमा नै परिवर्तन ल्याउने अठोट बाँड्ने दिनका रुपमा सधैँंझैं आइरहने नयाँ वर्षको यो ०८२औं वर्ष प्रवेशले वास्तवमै नेपाल र नेपाली भूमिमा केही न केही परिवर्तन ल्याउन सक्यो भने त्यो दिन नेपाल र नेपाली जनताका लागि साह्रैै महत्वपूर्ण दिनका रुपमा सावित रहने छ । नयाँवर्षले नेपालीहरूको व्यवहारमा नयाँपन जोस, जाँगर र ईमान्दारितामा नयाँपन उत्साहमा नयाँपन ल्याउन सके यसको गरिमा सधैँंका लागि बढ्ने थियो ।

नयाँवर्ष आफैले कुनै नयाँपन ल्याउने होइन । मानिसले नै नयाँ उत्साहका साथ आफूूमा परिवर्तन ल्याउँदै नयाँवर्षको सम्मानका खातिर केही नयाँ सोंचको विस्तार गर्ने हो । नयाँवर्षको आगमनसँंगै हामीले नयाँवर्ष कसरी मनाउने भन्ने बारेमा धेरै चासो लिएका हुन्छौं । पिकनिक जाने कि ? कुनै नयाँ ठाउँ घुम्न जाने कि वा केही रमाइलो गरेर दिन बिताउने आदिआदि । यसरी नयाँवर्षले प्रत्येक मानिसका मनमा केही न केही उत्साह थपेको छ त्यो राम्रो पक्ष हो । नयाँवर्षसंँगै प्रत्येक व्यक्तिले आफूमा कुनै न कुनै विषयमा समाज र देशको विकास वा सुधारका लागि एउटा मात्र नवीनकार्यको थालनी गर्न सक्यो भने उसले आफ्नो जीवन मात्र होइन अरूलाई समेत नयाँ शिक्षा दिन सफल रहन्छ । यिनै परिवर्तनका सफलताका साथ नयाँवर्ष प्रत्येक नेपालीहरूका घर घरमा विकासको सुनौलो बिहानी बनेर सधैँं आइरहने वातावरणको निर्माण गर्न हाम्रो तत्परताको निकै खाँचो रहन्छ ।

साँच्चिकै भन्ने हो भने यो ०८२ को नयाँवर्षको सुनौलो बिहानीको आगमनसँंगै प्रत्येक राजनीति गर्ने व्यक्तिले आफूलाई ईमान्दार देशभक्त र जनताप्रति उत्तरदायी बनाउने प्रण गर्नुपर्दछ । प्रत्येक राष्ट्रसेवकले देश र जनताका लागि आफूलाई समर्पण गर्न सक्नुपर्दछ । प्रत्येक सामाजिक अभियन्ताहरूले अशिक्षित गरीब र शोषित पीडित जनताको जीवनस्तर उकास्ने काममा आफूलाई समर्पित गर्न सक्नुपर्दछ । प्रत्येक नेपाली जनताले म मेरो घर र मेरो देशमा कुनै भिन्नता देख्नुहुँदैन । यी सबै कर्म गर्नका लागि सबैलाई वास्तविक रुपले ईमान्दार बनाउँदै लैजाने काम नयाँवर्षले अवश्य गर्नेछ । यसका लागि पहिलो प्रयास आफूले आफैमा परिवर्तन ल्याउने अठोट गर्नु नै हो । अनि मात्र नयाँवर्षले प्रत्येक नेपालीलाई नयाँ सोंचका साथ अगाडि ल्याउँदछ । अब यसका लागि हामीले के गर्ने त ? प्रश्न उठ्न सक्छ । यसका लागि नेताले राजनैतिक ईमान्दारिता त्याग्नु भएन ।

देशका सर्वोच्च पदमा पुगेका प्रधानमन्त्री र उच्च ओहदाका व्यक्ति र प्रशासकले नीतिलाई पालना गर्दै आफैमा नैतिकवान बन्न सक्नुपर्दछ । सेना प्रहरीले देश र जनताको रक्षा र सुरक्षामा आँच आउने गतिविधिलाई उत्साहका साथ सामना गर्न तैयार रहनपर्दछ । व्यवसायीहरूले व्यवसायिक ईमान्दारितालाई पालना गर्नुपर्दछ । सबैले सबै क्षेत्रबाट यस्तै ईमान्दारिता निर्माण गर्ने हो भने राम राज्यको परिकल्पना मात्र होइन एक दिन मर्यादा पुरुषोत्तम रामको राम राज्यको सार्थक चित्र प्रस्तुत हुनेछ । सिद्धान्ततः धेरै कुराहरुलाई नयाँवर्ष २०८२ ले अवश्य पनि सम्वोधन गर्ने नै छ । यी सामुहिक जिम्मेवारीका कुरा भए । तर, हामीले आजको नयाँवर्षको आगमनलाई कसरी स्वागत गर्ने त ? प्रत्येक व्यक्तिले आफूलाई परिवर्तन गरौं । आफूलाई खराब लाग्ने हरेक गतिविधि त्यागौं । सुन्दा नराम्रा लाग्ने क्रियाकलाप पनि त्यागौँ । पढ्दा नराम्रो लाग्ने कार्य पनि त्यागौं । भोग्दा, अरुले गरेको देख्दा र आफैले व्यवहारमा ल्याउँदा नराम्रो लाग्ने हरेक क्रियाकलाप पनि त्यागौं ।

नयाँ वर्षको आगमनसँंगै हामीले यति मात्र गर्न सक्यौँ भने हाम्रो व्यवहारले अरुलाई पनि प्रभाव पार्नेछ । हरेक एकले गरेको व्यवहारले हरेक अर्काको जीवन शैलीमा परिवर्तन ल्याउन सक्यौं भने पनि नयाँवर्ष प्रवेशले हामीमा परिवर्तन ल्याउन सक्ने छ । हामीमा आउने परिवर्तन नै नयाँवर्षको उमंग र उत्साह हो । यही नयाँवर्षको उमंग र उत्साहले सबै नेपालीको मनमा परिवर्तन ल्याउन सकोस् र हरेक नेपाली दिदीबहिनी दाजुभाइहरूमा आउने परिवर्तन नयाँवर्षको उपहार बन्न सकोस् । अन्त्यमा, पाेखरा दर्पण परिवार नयाँवर्ष २०८२ को शुभ अवसरमा सबै पाठक, विज्ञापनदाता, शुभचिन्तक, शुभेच्छुक, नेपाली दिदीबहिनी दाजुभाइमा सुस्वास्थ, दीर्घायू, उन्नति, प्रगति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।

Copyright © 2024 | All rights reserved.