0
प्रतिक्रिया
पोखरा । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालद्वारा आयोजित प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता पोखरामा सुरु भएको छ ।
प्रतियोगिताको लायन्सका पूर्व गभर्नर एवं पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरे ।
प्रतियोगिताको उद्घाटन खेलमा इरानी टोलीले विजयी शुरुआत गरेको छ । प्रतियोगिताको समूह ‘ए’ अन्तर्गतको पहिलो खेलमा इरानी टोलीले सशस्त्र प्रहरी बल (एपीएफ) लाई ३-१ को सेटमा पराजित गरेको हो ।
पहिलो सेट २५-२० ले आफ्नो पक्षमा पारेको इरानी टोली दोस्रो सेटमा पछि परेको थियो । दोस्रो सेट निकै प्रतिस्पर्धात्मक भएको थियो । जसमा एपीएफले ३१-२९ ले इरानी टोलीलाई हराउन सफल भएको थियो ।
तर तेस्रो सेट र चौथो सेट इरानी टोलीले नै जितेपछि एपीएफ ३-१ सेटमा पराजित बनेको हो । इरानी टोलीले तेस्रो सेट २५-२३ र चौथो सेट २५-१९ ले एपीएफलाई हराएको हो ।
दोस्रो खेलमा समूह ‘बी’ अन्तर्गत भारतीय टोली र नेपाल पुलिस क्लब प्रतिष्पर्धामा उत्रिएका छन् ।
प्रतियोगितामा सहभागी छ टोलीको सहभागिता रहेको छ । समूह ‘ए’ मा इरानी टोली, एपीएफ र गण्डकी प्रदेश छन् । समूह ‘बी’ मा भारतीय टोली, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब छन् । दुवै समूहबाट शीर्ष दुर्ईमा रहने टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनल खेल वैशाख २२ गते हुनेछ ।
प्रतियोगिताको विजेताले चार लाख ४४ हजार चार सय ४४ रुपैयाँ, उपविजेताले दुई लाख ४४ हजार चार सय ४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका क्याबिनेट सचिव शिवराज आचार्यले जानकारी दिए ।
यस्तै, प्रतियोगितामा तेस्रो हुने टिमले एक लाख ४४ हजार चार सय ४४ रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने उनले बताए ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई नगद १४ हजार चार सय ४४ तथा अन्य विधागततर्फका उत्कृष्ट खेलाडीलाई जनही आठ हजार चार सय ४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने उनले जानकारी दिए ।
Copyright © 2024 | All rights reserved.