0
प्रतिक्रिया
पोखरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको भनिएको अनियमितताको न्यायिक छानविन हुनुपर्नेमा जोड दिएका छन् । प्रेस सेन्टर नेपाल कास्कीले पोखरामा आयोजना गरेको पत्रकार भेट्घाटमा उनले यस्तो बताएका हुन् ।
हालै संसदीय छानविन उपसमितिले दिएको प्रतिवेदनका आधारमा अब न्यायिक छानविन गर्नुपर्नेमा उनको जोड छ ।
पोखरा विमानस्थलका बारेमा अहिले संसदीय समितिले नीतिगत प्रतिवेदन दिएको भन्दै उनले यसका आधारमा कानुनविद्, इन्जिनियर, प्राविधिक तथा अनुसन्धानकर्तासहितको न्यायिक प्रकृतिको छानविन राज्यका अंगले गर्नुपर्ने बताए । दोषीहरु कार्वाहीको भागीदार बन्नुपर्ने भन्दै नेता गुरुङले यस विषयको न्यायिक छानविनबाट निरुपण गर्नुपर्ने खाँचो औँल्याए ।
महासचिव गुरुङले नेपाली काँग्रेस र नेकपा(एमाले) दुई ठूला दल मिलेर बनेको वर्तमान सरकारले देशमा सुशासनको कायम गर्न नसकेको बताए । उनले सरकारका राम्रा कामको माओवादी केन्द्रले जहिले पनि सहयोग र समर्थन गर्ने बताए ।
उनले भने, “हामी परम्परागत ढर्राबाट चल्ने प्रतिस्पर्धी होइनौं, सरकारलाई गुण र दोशको आधारमा समर्थन वा विरोध गर्ने प्रतिपक्षी हौँ, सरकारले राम्रो काम गर्दा विरोध गर्दैनौं, तर दुई ठूला दलको बलियो सरकार हुँदासमेत सरकारले काम गर्न सकेको छैन ।”
माओवादी केन्द्रले हालै सञ्चालन गरेको हुलाकी राजमार्ग अभियानका क्रममा पार्टीप्रति जनताको उभार देखिएको उनले बताए ।
अभियानका क्रममा जनताको समस्या बुझ्ने र सुन्ने तथा जनता तथा शहीद परिवारसँग अन्तरक्रिया गर्ने काम गरिएकाले माओवादीप्रति जनताको विश्वास र अपेक्षा बढी रहेको पाइएको उनले बताए ।
महासचिव गुरुङले देशमा प्रतिगामी षड्यन्त्रलाई परास्त गर्न र राष्ट्रिय एकता र स्वाधिनताका लागि शान्ति सम्झौताका सहयात्री दलहरु एकैठाउँमा रहनुपर्ने आवश्यकता औँल्याए ।
Copyright © 2024 | All rights reserved.