बैशाख २१, २०८२, आइतबार

एपेक्स कास्कीको विशिष्टिकरण तालिका निर्माण कार्यक्रम


Advertisement Image
clock icon 16 hours, 38 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । प्याब्सन कास्कीअन्तर्गतको १४ विद्यालयहरुको समूह एपेक्सको आयोजनामा “शैक्षिक सत्र २०८२ का लागि विशिष्टिकरण तालिका निर्माण कार्यक्रम’ पोखरामा सम्पन्न भएको छ ।

पोखरा महानगरपालिका वडा नं १५ स्थित रेन्बो एकेडेमिक होम्स आवासीय माविमा भएको कार्यक्रममा करिब चार सय शिक्षक सहभागी थिए ।

शिक्षकहरूको शैक्षिक दक्षता अभिवृद्धि गर्दै विषयगत र स्तरगत विशिष्टिकरणको आधार तय गर्नका लागि कार्यक्रम आयोजना गरिएको परीक्षा संयोजक एवं ढुंडेसाँघु बोर्डिङ स्कुलका प्राचार्य विष्णु जिसीले जानकारी दिए ।

तालिकाले पाठ्यक्रमको प्रत्येक भागका उद्देश्य, प्रश्न तथा मूल्याङ्कनका प्रकार स्पष्ट पार्न सहयोग पुर्‍याउने संयोजक जिसीको दावी छ ।

सो अवसरमा एपेक्स कास्कीका अध्यक्ष एवं रेन्बो एकेडेमिक होम्स आवासीय माविका प्राचार्य बाबुराम बरालले तालिका निर्माणले प्रश्नपत्र निर्माण, परीक्षा सञ्चालन, मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउन महत्वपूर्ण आधार बन्ने दावी गरे ।

उनले सरकारी पाठ्यक्रमको उद्देश्य र मूल्याङ्कन प्रणालीबीच स्पष्ट सम्बन्ध स्थापना गर्दै शिक्षणलाई प्रभावकारी बनाउन पनि तालिकाले सघाउने बताए ।

तालिका निर्माणले सैद्धान्तिक पक्षसँगै यसको प्रयोगात्मक पक्षमा पनि सघाउने दावी गर्दै बरालले तालिकाको प्रयोगबाट विद्यार्थीको सिकाइ उपलब्धि प्रभावकारी ढंगले मूल्याङ्कन गर्न पनि महत्वपूर्ण हुने बताए ।

यस्तो प्रकारका तालिमले शिक्षण सिकाइ प्रक्रियामा गुणस्तर वृद्धि गर्ने मुख्य आधार हुने भन्दै उनले सहभागी शिक्षकहरूलाई कार्यतालिका व्यवहारमा उतार्न आग्रह गरे ।

सहभागी शिक्षकहरूले तालिम अत्यन्त उपयोगी र व्यवहारमैत्री भएको प्रतिक्रिया जनाएका छन् । उनीहरूले यस्ता कार्यक्रमले शिक्षण कार्यमा नयाँ दृष्टिकोण र उत्साह थप्ने विश्वास व्यक्त गरेका छन् ।

Copyright © 2024 | All rights reserved.