0
प्रतिक्रिया
पोखरा । प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र इरानी टोली भिड्ने भएका छन् ।
प्रतियोगिताको फाइनल खेल आज दिउँसो ४ बजे पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा हुनेछ । दुवै टोली निकै सशक्त भएकाले फाइनल खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने आकलन गरिएको छ ।
आइतबार भएको सेमिफाइनलमा पुलिसले सशस्त्र प्रहरी बलको एपीएफलाई ३-० को सोझो सेटमा र इरानी टोलीले त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा पराजित गर्दै फाइनलको यात्रा तय गरेका हुन् ।
यसैगरी तेस्रो स्थानका लागि नेपाल आर्मी र सशस्त्र प्रहरी एपीएफ बिच आजै दिउँसो १ बजे प्रतिस्पर्धा हुने बताइएको छ ।
प्रतियोगिताको विजेताले चार लाख ४४ हजार चार सय ४४ रुपैयाँ, उपविजेताले दुई लाख ४४ हजार चार सय ४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका क्याबिनेट सचिव शिवराज आचार्यले जानकारी दिए ।
यस्तै, प्रतियोगितामा तेस्रो हुने टिमले एक लाख ४४ हजार चार सय ४४ रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने उनले बताए ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई नगद १४ हजार चार सय ४४ तथा अन्य विधागततर्फका उत्कृष्ट खेलाडीलाई जनही आठ हजार चार सय ४४ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने उनले जानकारी दिए ।
Copyright © 2024 | All rights reserved.