जेठ ०८, २०८२, बुधबार

पाेखरामा प्रधानमन्त्री कप-एनभिए महिला तथा पुरुष भलिबल क्लब लिग’ हुने


Advertisement Image
clock icon 8 hours ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरामा पहिलोपटक नवौँ संस्करणको ‘प्रधानमन्त्री कप-एनभिए महिला तथा पुरुष भलिबल क्लब लिग’ हुने भएको छ । नेपाल भलिबल सङ्घको आयोजित प्रतियाेगिता  यही जेठ ८ देखि १५ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको र पोखरा रङ्गशालाको बहुउद्देश्यीय कभर्डहलमा खेल सञ्चालन हुनेछन् । 

प्रतियोगितामा सहभागी टोलीका खेलाडी पोखरा आउने क्रम सुरु भएको सङ्घका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए ।

कभर्डहलको आवश्यक मर्मतलगायत काम अन्तिम चरणमा पुगेको अध्यक्ष चन्दले बताए । खेलस्तरमा सुधार ल्याउन सहभागी टोलीले तीन जनासम्म विदेशी खेलाडी राख्न सक्ने प्रावधान रहेको उनले जानकारी दिए । 

प्रतियोगितामा पुरुषतर्फ आठ र महिलातर्फ ६ टोलीको सहभागिता रहनेछ । पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश भलिबल सङ्घ, सुदूरपश्चिम प्रदेश र मणिमुकुन्द भलिबल क्लब बुटबलले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यसैगरी महिलातर्फ नेपाल पुलिस क्लब, नेपाल एपिएफ, न्यू डायमण्ड युथ स्पोर्टस् क्लब, त्रिभुवन आर्मी, एभरेष्ट भलिबल क्बल र कर्णाली प्रदेश भलिबल टोलीको सहभागिता रहने छ । 

“त्रिपुरेश्वरको कभर्डहल मर्मत भइरहेकाले पोखरा नै उपयुक्त विकल्प हो”, अध्यक्ष चन्दले भने । प्रतियोगितामा महिला तथा पुरुष दुबैतर्फका उपाधि विजेताले रु आठ लाखका दरले पुरस्कार पाउनेछन् । 

यसैगरी उपविजेताले रु चार/चार लाख तथा तृतीय हुने टोलीले रु दुई दुई  लाखका दरले पुरस्कार पाउने नेपाल भलिबल सङ्घका महासचिव रोशन श्रेष्ठले जानकारी दिए । 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई जनही रु ५० हजार र विधागत उत्कृष्ट खेलाडीले जनही रु २५ हजार प्राप्त गर्नेछन् । सङ्घका अध्यक्ष चन्दले नेपालको राष्ट्रिय खेल भलिबललाई व्यवसायिकरण र युवा पिढीलाई खेलप्रति आकर्षित गर्न प्रतियोगिता सफल हुने विश्वास व्यक्त गरे । 

“गण्डकी प्रदेशको राजधानी पोखरामा भलिबल खेलको लोकप्रियता भलिबल खेलप्रेमीको माया र सद्भाव एवं खेल पर्यटनका मार्फत पोखराको प्रवद्र्धन हुने विश्वास लिएका छौँ”, अध्यक्ष चन्दले भने । 

Copyright © 2024 | All rights reserved.