साउन ०४, २०८२, शनिबार

‘मातृशिशु स्वास्थ्यका लागि अविच्छिन्न हेरचाह परियोजना प्रभावकारी’


clock icon 1 month, 3 weeks ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिकामा सञ्चालित मातृ शिशु स्वास्थ्यका लागि अविच्छिन्न हेरचाह परियोजना प्रभावकारी भएको निष्कर्ष निकालिएको छ । 

दुई वर्ष अघिदेखि पाइलोटिङ प्रोजेक्टको रूपमा महानगरपालिकाको वडा नं.१६, १९, २०, २५ र ३० मा सञ्चालन गरिएको यो परियोजना मातृ शिशु स्वास्थ्य प्रवर्द्धनसहित निरन्तर हेरचाहमा निकै प्रभावकारी भएको निष्कर्ष महानगरले निकालेको हो ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका, सिटिजन्स एसोसिएसन फर नेपाल एक्सचेन्ज, पोखरा-कोमागाने नागरिक मैत्री एसोसिएसन र पोखरा महानगरपालिकाको साझेदारीमा सञ्चालित परियोजना गर्भवती महिला, उत्तर प्रसूति (सुत्केरी भएको ४५ दिनसम्म) का सुत्केरी महिला र नवजात शिशुदेखि दुइ वर्षसम्मका बालबालिकालाई निरन्तर हेरचाहसहित स्वास्थ्य सेवा, खोप तथा पोषणसम्बन्धी सम्पूर्ण व्यवस्थापनमा प्रभावकारी देखिएको निष्कर्ष महानगरको छ ।

समीक्षा बैठकमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले परियोजनालाई महानगरका ३३ वटै वडामा विस्तार गरिने बताए ।

उनले भने,‘पाइलोटिङ प्रोजेक्टको रूपमा पाँच वडामा परियोजना सफल भएको छ, त्यसैले अब महानगरपालिका भरि नै लागु गरिनेछ’, उनले भने । 

महानगरपालिका क्षेत्रभरिका लक्षित वर्गले यसको सुविधा प्राप्त गर्ने व्यवस्थाको आवश्यक प्रबन्धका लागि महानगरपालिका प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

महानगर क्षेत्रको मातृ शिशु मृत्युदरलाई शून्यमा झार्ने योजनासहित महानगरपालिकाले स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकासमेत परिचालन गरी नगरवासीको स्वास्थ्य सुरक्षा लक्षित परियोजनाको निरन्तरतामा महानगर प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

महानगरपालिकाकी उपप्रमुख मन्जुदेवी गुरुङले महिला तथा नवजात शिशु र बालबालिकाको स्वास्थ्य सुरक्षा निकै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै त्यसको संरक्षण र प्रवर्द्धनका लागि नागरिक स्तरमा व्यापक जनचेतना अभिवृद्धि गर्नुपर्ने बताइन् । 

यसका लागि विभिन्न प्रकारका शिक्षा तथा जानकारीमूलक हातेपुस्तिका, सचेतनामूलक प्रचार सामाग्री र महिला तथा बाल शिक्षाका पर्याप्त प्रशिक्षण आवश्यक रहेको उनले बताइन् ।

स्वास्थ्य महाशाखाका प्रमुख भरतराज पौडेलले यो परियोजनाले सकारात्मक नतिजा दिएकाले यसको निरन्तरतामा जोड दिए । 

परियोजनाअन्तर्गत महिलाको गर्भावस्था, प्रसव अवस्था, सुत्केरी अवस्था, नवजात शिशु र यो सबै अवस्थाको नियमित परीक्षण तथा चेकजाँचको रेकर्ड कार्डसमेत तयार गर्ने गरिएको महानगरपालिकाकी वरिष्ठ नर्सिङ निरीक्षक सवना श्रेष्ठले बताइन् । 

परियोजना सञ्चालनमा जापानका विशेषज्ञ तथा प्रतिनिधको सहयोग रहेको महानगरपालिकाले जनाएको छ ।

Copyright © 2024 | All rights reserved.