जेठ १०, २०८२, शुक्रबार

पोखरा बहुमुखी क्याम्पसले पायो ‘क्युएए प्रमाणपत्र’


Advertisement Image
clock icon 12 hours, 22 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । पोखरा महानगरपालिका वडा नं ९ शान्तिवनस्थित पोखरा बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट क्युएए प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ।

गत वैशाख ३१ गते आयोगले पोखरा बहुमुखी क्याम्पसलाई क्युएए दिने निर्णय गरेको हाे । २०४४ सालमा स्थापना गरिएको पोखरा बहुमुखी क्याम्पस पोखराको पहिलो सामुदायिक क्याम्पस हो।

२०४४ सालमा पोखराको पुरानो टुँडिखेलस्थित राष्ट्रिय उच्च माविको भवनमा संचालन शुरु गरिएको पोखरा बहुमुखी क्याम्पस २०५९ सालदेखि पोखराको नयाबजारस्थित महेन्द्र माविको भवनमा स्थानान्तरण गरेर संचालन गरिएको थियो।

२०७९ मा कलेजको आफ्नै भवन पोखरा-९ शान्तिवन नजिक निर्माण गरिएपछि भने पोखरा बहुमुखी क्याम्पसले आफ्नै भवनबाट सबै किसिमको पढाई संचालन गरिरहेको क्याम्पस प्रमुख शिशुकला पराजुलीले जानकारी दिईन् ।

भौतिक पूर्वाधारको अभावमा शैक्षिक गुणस्तरसमेत वृद्धि हुन नसकेको विगतको अवस्थामा पछिल्लो समय क्याम्पसले धेरै सुधार समेत गरेको छ।

शुरुवातमा आइकम र आइएको कक्षा संचालन गरेको पोखरा बहुमुखी क्याम्पसले हाल बिबिएस र बिएको कक्षा संचालन गर्दै आएको छ।

क्याम्पसमा हाल करिब पाँच सय जना विद्यार्थीको साथै २१ जना शिक्षक प्राध्यापक र छ जना कर्मचारी रहेको क्याम्पस प्रमुख पराजुलीले बताइन्।

उनका अनुसार क्याम्पसको शैक्षिक गुणस्तर वृद्धि हुनुलगायत क्याम्पसमा आवश्यक पूर्वाधारसमेत तयार भएकोले विश्वविद्यालय अनुदान आयोगले पोखरा बहुमुखी क्यम्पसलाई क्युएएको प्रमाणपत्र दिने निर्णय गरेको हो।

आयोगको Education Quality Assurance Accreditation Council अर्थात ईक्युएएसीको मूल्यांकनका आधारमा क्याम्पसलाई क्युएए अर्थात Quality Assurance Accreditation को प्रमाण पत्र दिने गरिन्छ।

उक्त प्रमाणपत्र दिने निर्णय आयोगले गरेको भन्दै आयोगको टिमप्रति क्याम्पस ब्यवस्थापन समिति अध्यक्ष नरेन्द्र लालचनले आभार प्रकट गरे ।

यस अघि पोखराको जनप्रिय बहुमुखी क्याम्पस, कन्या क्याम्पस, कालिका बहुमुखी क्याम्पसलगायतले पनि क्युएए प्रमाणपत्र प्राप्त गरिसकेका छन।

एक पटक प्राप्त गरेको प्रमाणपत्र सधैँका लागि नहुने र निर्धारित समयमा मूल्यांकन हुने भएकोले यस किसिमको प्रमाणपत्र प्राप्त गरेका कलेजलाई आफ्नो शैक्षिक गुणस्तर र भौतिक पूर्वाधारमा कमि आउन नदिन एवं जनशक्ति पनि दक्ष र सक्षम राख्नुपर्ने दवाब कायम रहन्छ।

विश्वविद्यालय अनुदान आयोगको यो निर्णयसंगै पोखरा बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तर र आबश्यक पुर्वाधार राम्रो रहेको एवं जनशक्ति पनि दक्ष रहेको सन्देश आम विद्यार्थी र अभिभावकमा पुग्ने र आगामी दिनमा पनि क्याम्पसको शैक्षिक सहित अन्य वातावरण अझ राम्रो बनाउन प्रेरणा पुगेको पोखरा बहुमुखी क्याम्पसका आन्तरिक गुणस्तर सुनिश्चित समिति संयोजक महेन्द्र रिमालले जानकारी दिए।

Copyright © 2024 | All rights reserved.