0
प्रतिक्रिया
काठमाडौँ । इन्द्रेणी मल्टिपर्पोज प्रालिको सात करोड लगानीमा काठमाडौँमा मार्कोपोलो होटल सञ्चालनमा आएको छ । ईन्द्रेणी मल्टीप्रपोज ईन्भेस्टमेन्ट प्रालिले होटल मार्कोपोलो एण्ड रुफटप रेष्टुरेन्ट संचालनमा ल्याएको २४ दिनपछि औपचारिक रुपमा उद्घाटन भएको हो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले होटलको उद्घाटन गरेका छन् ।
कार्यक्रममा अध्यक्ष चन्द्र ढकालले नेपालमा सम्भावना हुँदाहुँदै पनि कतिपय चिजहरुलाई गुमाइरहेको बताए । उनले नेपालमा साच्चिकै सम्भावना रहेकाले आफ्नै देशमा होटल रेष्टुरेन्ट संचालनमा ल्याउनु सकारात्मक पक्ष भएको बताएका छन् ।
उनले भने, ‘अहिले नेपालमा एकदमै सम्भावना हुँदाहुँदै पनि कतिपय चिजहरुलाई गुमाइरहेका हुन्छौं, कतिपय सम्भावना अगाडि बढाउनका लागि नकारात्मक वातावरण छैन भन्ने हिसावलाई चिर्नका लागि देशमै केही न केही गर्नुपर्ने भन्ने यो एउटा सकारात्मक उदाहरण हो, नेपालमा साच्चिकै सम्भावना छ भन्ने जुन म्यासेज दिनको लागि र नेपालमा रहनु हुने सबैलाई सम्भावना छ भन्ने उद्देश्यले होटल अघि बढाउनु भयो यो साच्चिकै राम्रो पक्ष हो ।’
हरेक नेपाललाई प्रमोट गर्ने एउटा सम्भावित एरियामा लगानी गर्नु सबल पक्ष भएको भन्दै उनले मार्कोपोलो प्रालिले आफैंमा नेपालको पर्यटक क्षेत्रलाई अघि बढाउनमा विशेष भूमिका खेलेको बताए ।
होटलका निर्देशक कृष्ण सुवेदीले नयाँ व्यवस्थापनले होटलको भौतिक संरचना, सेवा सुविधा र खानपानमा व्यापक सुधार गर्दै आधुनिक प्रविधियुक्त होटलको अवधारणा अघि सारेको बताए । उनले पाहुनालाई नयाँ अनुभव हुनेगरी होटल रूम, रेष्टुरेन्ट र बैठक कक्ष तयार भएको जानकारी दिए ।
स्वच्छ, शान्त र पारिवारिक वातावरणमा बस्न चाहने ग्राहकका लागि उपयुक्त हुने गरी होटललाई ४ प्रकारका ३० वटा अत्याधुनिक तथा सुविधायुक्त कोठाहरूसहित डिजाइन गरिएको छ। होटलमा चार हजारदेखि आठ हजारसम्मका डिलक्स तथा स्विटरूमहरूमा मध्ययवर्गीय नेपाली तथा विदेशी पर्यटकले उत्कृष्ट अनुभव गर्नेछन् ।
काठमाडौं शहरको सुन्दर दृश्यावलोकनसहित स्वादिष्ट खानाका परिकार पाईने रुफटप रेष्टुरेन्ट मार्कोपोलो होटलको विशेष आकर्षण हुनेछ । होटलमा ६० जना क्षमताको सभाहल समेत बनेको छ ।
बैठक तथा सेमीनारका लागि उपयुक्त डिजाईनमा बनेको हलमा ग्राहकले ५० देखि ६० जनासम्म सहभागी हुने उत्सवका लागि समेत प्रयोग गर्न सक्नेछन् ।
आकर्षक ग्रिनरी डिजाईनमा तयार पारिएको रूफटप रेष्टुरेन्टमा नेपाली परिकारसँगै इण्डियन, जापनिज र कन्टिनेन्टल परिकारहरु उपलब्ध हुनेछन् । ग्राहकको रूचिका आधारमा विदेशी तथा स्वदेशी पाहुनालाई ध्यानमा राखेर मेनु तयार गरिएको निर्देशक सुवेदीको भनाई छ ।
ईन्द्रेणी मल्ट्रीप्रपोज प्रालिले पहिलो चरणमा काठमाडौंबाट सेवा थाले पनि यसलाई विस्तार गर्दै देशका अन्य शहरमा पनि लैजाने तयारी छ ।
Copyright © 2024 | All rights reserved.