0
प्रतिक्रिया
पोखरा । प्रधानाध्यापक संघ नेपाल (पान) नेपालको दोस्रो राष्ट्रिय अधिवेशन पोखरामा हुने भएको छ । कार्यक्रम यही जेठ २३ र २४ गते हुने भएको छ । प्रिन्सिपल एसोसियसन अफ नेपाल (पान) नेपाल भरका सामुदायिक विद्यालयका प्रधानाध्यापकको साझा संगठन हो ।
अधिवेशनमा प्रत्येक वर्ष फरकफरक प्रदेशमा आयोजना गरिने राष्ट्रिय सम्मेलन यसपटक पोखरामा आयोजना हुन लागेको केन्द्रीय अध्यक्ष सुदमप्रसाद गौतमले जानकारी दिए ।
अधिवेशनमा देशभरबाट करिब एक हजार प्रधानाध्यापक, शिक्षाविद्, पालिका प्रमुख, विदेशी प्रतिनिधिलगायतका नीति निर्माताको सहभागिता रहने अध्यक्ष गौतमले जानकारी दिए ।
उनले संस्थामा देशभरका ३० हजार भन्दा बढी सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई एकवतावद्ध गरी शैक्षिक उत्कृष्टता, नेतृत्व विकास र सहकार्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले रहेको बताए ।
सामुदायिक विद्यालयका प्रधानाध्यापकको पेशागत, शैक्षिक, प्राज्ञिक विकासका लागि पानले सबै खाले विद्यालयको कार्यसम्पादन र प्रधानाध्यापकको कुशल नेतृत्व सीप विकासका लागि नेतृत्वदायी भूमिका खेल्दै आईरहेको छ ।
विद्यालय प्रशासन, व्यवस्थापन, नीति सुझाव, तालिम तथा विभिन्न शैक्षिक गतिविधिको समन्वय गर्दै शिक्षा क्षेत्रको विकासका लागि एसोसियसनले निरन्तर पहल गरिरहेको छ ।
प्यान अवार्ड २०८२ मा प्रत्येक प्रदेशबाट एक, एक आधारभूत र माध्यमिक तहका उत्कृष्ट विद्यालय प्रत्येक प्रदेशबाट एक, एक जना आधारभूत र माध्यमिक तहका प्रधानाध्यापक, प्रत्येक प्रदेशबाट एक, एक उत्कृष्ट नगरपालिका वा गाउँपालिका, मुलुकभरबाट एक उत्कृष्ट महानगरपालिका वा उपमहानगरपालिकालाई अवार्ड प्रदान गर्ने कार्यक्रम छ ।
साथै प्यान अवार्डमा प्रत्येक प्रदेशबाट एक वहालवाला दीर्घसेवी प्रधानाध्यापकलाई सम्मानित गर्ने गत वर्षको अभ्यासलाई दोहो¥याउने तयारी गरेको छ । सम्मान पाउन योग्य भनि छनोट भइसकेका प्रतिस्पर्धीलाई शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइरालालगायतको नेतृत्वले निष्पक्ष, स्वतन्त्र र मापदण्डमा आधारित रहेर छनोट गरिएको केन्द्रीय अध्यक्ष गौतमले बताए ।
छनोट समितिले देशभरिका विद्यालय, पालिका तथा प्रधानाध्यापकबाट अफलाइन आवेदन, प्राप्त सिफारिस तथा समितिले संकलन गरेका विवरणलाई आधार बनाई २५ वटा मापदण्डमा आधारित रहेर निर्णय गरेको हो ।
प्यान सञ्चालित कार्यक्रमले प्रधानाध्यापकलाई आत्मविश्वासी बनाउने, नेतृत्वमा नवीन दृष्टिकोण ल्याउने र सामुदायिक विद्यालयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्य रहेको अध्यक्ष गौतमको भनाइ थियो ।
पनले विभिन्न जिल्लाका प्रधानाध्यापकलाई एकतावद्ध गरी शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने कार्य गरेको छ । यसले संयुक्त राष्ट्रसंघ जस्ता अन्तर्राष्ट्रिय संस्थाहरुसँग सहकार्य गरी विद्यालयहरुको क्षमता विकास गर्ने कार्यक्रम सञ्चालन गरेको छ ।
पानका प्रतिनिधि अन्तर्राष्ट्रिय मञ्चमा नेपालको शिक्षा क्षेत्रको प्रतिनिधित्व गर्दै आएका छन् । पानले भविष्यमा विद्यालयबीचको असमानता कम गर्ने, शिक्षक र प्रधानाध्यापकको क्षमता विकास गर्ने र शिक्षा क्षेत्रमा नवीनतम् प्रविधि समावेश गर्ने लक्ष्य राखेको छ । यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा शैक्षिक उत्कृष्टतालाई बढवा दिने योजना बनाएको छ ।
पानले नेपालको शिक्षा क्षेत्रमा प्रधानाध्यापकको भूमिका महत्वपूर्ण बनाउने, शैक्षिक गुणस्तर सुधार्ने र विद्यार्थीहरुको भविष्य उज्ज्वल बनाउने दिशामा ठूलो योगदान दिइरहेको गण्डकी प्रदेशका अध्यक्ष वामदेव पौड्यालले बताए ।
Copyright © 2024 | All rights reserved.