0
प्रतिक्रिया
पोखरा । पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा निर्वाचन प्रक्रियामार्फत विभिन्न पदमा विद्यार्थी प्रतिनिधि चयन गरिएको छ ।
विद्यालय क्याप्टेनमा फुटबल चुनाव चिन्ह लिएर मैदानमा उत्रिएकी करुणा आचार्य तीन सय ८२ मत प्राप्त गरी विजयी भइन् । उनका प्रतिद्वन्दी विजय अधिकारीले दुई सय ७३ मत प्राप्त गरे ।
उपक्याप्टेनमा चरो चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका विश्वास पोखरेलले अन्य तीन प्रतिस्पर्धीलाई पाखा लगाउँदै निर्वाचित भए । उनले दुई सय ५३ मत प्राप्त गरे ।
सन्दिपा थापाले दुई सय सात, रिकान्त शर्माले एक सय १५ र प्रतिक गौतमले ४७ मत प्राप्त गरेको मुख्य निर्वाचन आयुक्त कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
यता, बाल क्लबको अध्यक्षमा प्रशाान्त थापा विजयी भए । उनले तीन सय ६१ मत प्राप्त गरे । जुनियर रेडक्रस सर्कलको अध्यक्षमा तीन जनाले प्रतिस्पर्धा गरेकोमा तीन सय चार मत प्राप्त गरी लक्ष्मी गुरुङ निर्वाचित भइन् । अन्य प्रत्यासी संघर्ष बानियाँले दुई सय १५ र विप्रेशा भट्टराई एक सय एक मत प्राप्त गरे ।
कक्षा ४ देखि १० सम्मका सात सय ५५ जना मतदाता रहेकामा छ सय ६९ मत खसेकोे मुख्य निर्वाचन आयुक्त जयराम पुनले बताए ।
मतदान लगत्तै खट्टिएका विद्यार्थी पर्यवेक्षक, सुरक्षाकर्मी र प्रत्यासीका प्रतिनिधिको रोहवरमा मुचुल्का गरी कडा सुरक्षा घेराका बीच मतगणना गरिएको थियो ।
तीन वटा मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृतका रुपमा १६ जना विद्यार्थी खट्टिएका थिए ।
निर्वाचनमा क्यिाप्टेनका लागि दुई, उपक्याप्टेनमा चार, बाल क्लबको अध्यक्षमा दुई जना र रेडक्रस सर्कलको अध्यक्षमा तीन जना गरी ११ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।
विद्यालयको पाठ्यक्रममा नै निर्वाचन र मतदानका विषय समावेश भएकाले पनि प्रयोगात्मक अभ्यासको रुपमा निर्वाचन प्रणालीमार्फत नै पदाधिकारी चयन गरिएको प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले बताए ।
नवनिर्वाचित पदाधिकारीलाई सहायक प्रधानाध्यापक रामबहादुर बानियाँ, मुख्य निर्वाचन आयुक्त कृष्णप्रसाद पौडेल, जयराम पुन, बाल क्लब संयोजक तारा अधिकारी, शिक्षक महेन्द्र प्रसाद पौडेलले शपथ गराए ।
Copyright © 2024 | All rights reserved.