0
प्रतिक्रिया
पोखरा । शिक्षासेवी डा. टुवराज बास्तोलाको ८२ वर्षको उमेरमा निधन भएको छ ।
पोखरा महानगरपालिका वडा नं ११ फूलबारीस्थित निवासमा आइतबार करिब १ बजे उनको निधन भएको हो ।
सम्पूर्णानन्द विश्वविद्यालय बनारसबाट संस्कृत साहित्यमा प्रथम श्रेणीमा आचार्य तथा विद्यावारिधि गरेका डा. बास्तोलाले लामो समय शिक्षा सेवामा समर्पित थिए ।
बाराही माविमा निरन्तर अध्यापन गरेर सेवानिवृत्त भएका उनी त्यसपछि पनि विभिन्न शैक्षिक, सामाजिक, धार्मिक तथा साहित्यिक संस्थामा क्रियाशील थिए ।
उनी शिवशक्ति मावि, शिक्षा महाविद्यालय र रामेश्वर मन्दिर फूलबारीका पूर्व अध्यक्ष हुन् ।
यसैगरी लेखनाथ साहित्य प्रतिष्ठानका सल्लाहकार तथा लेखनाथ जन्मघर जीर्णाेद्वार समिति संयोजक रहेका थिए । उनले शिवशक्ति माविमा प्रतिभा सम्मान कोष स्थापना गरेका छन् ।
यसैगरी विभिन्न धार्मिक अनुष्ठानहरुमा उनको सहयोग रहेको छ । उनी महेन्द्र विद्याभूषणबाट विभूषित भएका थिए ।
बाराही मावि, शिवशक्ति मावि,शिव शक्ति क्याम्पस, शिक्षा महाविद्यालय, लेखनाथ साहित्य प्रतिष्ठान, नवनीत साहित्य सागर, विन्दुवासिनी संस्कृत विद्यापीठलगायतका संस्थाबाट उनी सम्मानित भएका थिए ।
स्व.बास्तोलाका धर्मपत्नी मुगादेवी, छोरा रमेश, दुई छोरी प्रभा पौडेल र कमला पराजुली तथा पाँच नातिनातिना छन् ।
साथै, एक दाजु, तीन भाइ र एक बहिनी छन् । दिवंगत बास्तोलाको शवयात्रा सोमबार बिहान १० बजे हुने परिवारले जनाएको छ ।
पोखरा-११ सेतीगण्डकी,कालीखोला र भलाम खोलाको दोभान रिठ्ठाघाटमा अन्त्येष्टि हुनेछ ।
Copyright © 2024 | All rights reserved.