0
प्रतिक्रिया
पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाद्वारा आर्थिक वर्ष २०८२/८३ का लागि ६५ करोड १५ लाख ३४ हजार सात सय ७५ रुपैयाँको बजेट गाउँसभामा प्रस्तुत गरेको छ ।
बजेटमध्ये २१ करोड ८२ लाख पुँजीगत र ४३ करोड ३२ लाख चालु खर्च छ । पर्यटन र कृषि क्षेत्रलाई प्राथमिकता दिँदै गाउँपालिकाले समग्र विकासमा अघि बढ्ने लक्ष्य राखेको गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारीले जानकारी दिइन् ।
अधिकारीका अनुसार गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि ६० लाख, सडक, चक्रपथ तथा अन्य सडक पूर्वाधारमा ११ करोड १८ लाख ७२ हजार, वडा कार्यालय र स्वास्थ्य भवन निर्माणमा ७७ लाख, झोलुंगे पुलको दायित्व भुक्तानीमा ५० लाख विनियोजन गरिएको छ ।
आधारभूत अस्पतालमा विशेषज्ञ सेवा विस्तारका लागि १२ लाख, स्वास्थ्य बीमा प्रिमियम वृद्धिसहित ८७ लाख, धान्द्रुक स्वास्थ्य चौकीमा ल्याब स्थापना, आयुर्वेद सेवा र योग अभ्यासका लागि छुट्टै बजेट छ ।
आगामी वर्ष कृषि उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न ५५ लाख विनियोजन गरिएको छ । व्यावसायिक कृषिलाई प्रोत्साहन गर्न दुग्ध, चल्ला र पशुपालन क्षेत्रमा अनुदानको व्यवस्था गरिएको छ ।
गाउँसभामा प्रस्तुत बजेट पर्यटन, कृषि, पूर्वाधार, सामाजिक रुपान्तरण र समावेशी विकासमा केन्द्रित भएको उनको भनाइ छ ।
पर्यटन प्रवर्द्र्धनका लागि होमस्टे व्यवस्थापन र सञ्चालनमा बजेट विनियोजन गरिएको छ भने अन्नपूर्ण हाट बजार तथा व्यापार मेला सञ्चालनका लागि तीन लाख छुट्याइएको छ ।
महिला, बालबालिका, ज्येष्ठ नागरिक, दलित, अपांगता भएकाहरुका लागि ३७ लाख, ज्येष्ठ नागरिक तीर्थ भ्रमणका लागि चार लाख, स्वच्छ खानेपानी कार्यक्रमका लागि ३० लाख र विपद् व्यवस्थापन कोषमा ४० लाख बजेट छुट्याइएको छ ।
फोहोरमैला प्रशोधन केन्द्र स्थापना, मेलमिलाप केन्द्र सञ्चालन, कानुनी सचेतना, सामाजिक विकृति उन्मूलन, युवा परिचालन, प्राविधिक शिक्षा छात्रवृत्ति लगायतका कार्यक्रमका लागि समेत बजेट छ । गाउँपालिका तथा वडाहरुको प्रशासनिक र चालु खर्चका लागि नाै करोड ३० लाख विनियोजन गरिएको छ ।
Copyright © 2024 | All rights reserved.