0
प्रतिक्रिया
काठमाडौं । प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक पारित भएको छ ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पेश गरेको संघीय निजामती सेवा विधेयक बहुमतले पारित भएको हो ।
आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले भने भिजिट भिसा प्रकरणमा आफ्नो विरोध कायम राख्दै बैठक बहिष्कार गरेका थिए ।
यस विधेयकमा निजामती कर्मचारीले माथिल्लो तहबाट अवकाश पाएपछि संवैधानिक, कूटनीतिक र राजनीतिक पदमा नियुक्ति खान कुलिङ पिरियड दुई वर्ष राखिएको छ ।
त्यस्तै यस विधेयकमा निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेरहद बढाइएको छ। अहिलेसम्म कर्मचारीहरूले ५८ वर्षमा अवकाश पाउँदै आएकोमा विधेयकले ६० वर्षमा अवकाश दिने गरी व्यवस्था गरेको छ ।
त्यस्तै, सेवा प्रवेशको अधिकतम उमेर घटाइएको छ । अधिकृत तहको पदमा २१ वर्ष पूरा भएको तर ३२ बर्ष पूरा नभएको पुरुष र ३७ वर्ष पूरा नभएको महिला सेवा प्रवेशका लागि योग्य हुनेछन् । अहिलेको कानुन अनुसार पुरुषहरूले ३५ वर्षसम्म र महिलाहरूले ४० वर्षसम्म निजामती सेवामा प्रवेश गर्न पाउँछन् ।
प्रतिनिधि सभाबाट पारित भएसँगै यो विधेयक अब विधेयक राष्ट्रिय सभामा पेश हुने छ । -एभरेष्ट न्यूज एजेन्सी
Copyright © 2024 | All rights reserved.