असार २०, २०८२, शुक्रबार

जनजागृति मावि पूर्वी चितवनकै उत्कृष्ट


Advertisement Image
clock icon 13 hours, 30 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

चितवन । चितवनको रत्ननगर नगरपालिका वडा नं १४ पिठुवास्थित जनजागृति माध्यमिक विद्यालय माध्यमिक शिक्षा परीक्षा (एसईई) मा पूर्वी चितवनकै उत्कृष्ट विद्यालय बन्न सफल भएको छ ।

केही वर्षदेखि अंग्रेजी माध्यममा पढाई सञ्चालन गरेर धेरैको ध्यान खिच्न सफल विद्यालयले यस वर्ष एसईई परीक्षामा २५ जना विद्यार्थीलाई ए प्लस ग्रेडमा उत्तीर्ण गराउन सफल भएको छ ।

साथै एसईईमा अङ्ग्रेजी, नेपाली र कम्प्युटर विषयमा शतप्रतिशत तथा अन्य सबै विषयमा ९० प्रतिशत बढी विद्यार्थी उत्तीर्ण गराउन विद्यालय सफल भएको सूचना अधिकारी एवं सहायक प्रधानाध्यापक रोहिणी न्यौपानेले जानकारी दिए ।

यसवर्ष एक सय २३ जना विद्यार्थी एसईईमा सहभागी भएकामा २५ जनाले ए प्लस ल्याउन सफल भएका छन् । विद्यालयले विगतका वर्षमा पनि उत्कृष्ट नतिजा ल्याउने गरेको छ ।  

२०१९ सालमा स्थापित विद्यालयमा हाल करिब एक हजार तीन सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा कक्षा १२ सम्मको पढाई हुँदै आएको छ । कक्षा ११ र १२ मा शिक्षा र व्यवस्थापन विषयको पढाई हुँदै आएको छ । 

विद्यालयले एसईई २०८१ मा ९२दशमलव६८ प्रतिशत विद्यार्थीलाई उत्तीर्ण गराउन सफल भएको र पूर्वी चितवनकै एक उत्कृष्ट शैक्षिक गन्तव्यको रूपमा आफूलाई स्थापित गरेको विद्यालयका सूचना अधिकारी न्यौपानेले जानकारी दिए ।

विद्यालय हरेक तवरले उत्कृष्ट हुँदै गए पनि बसको व्यवस्थापन गर्न नसक्दा केही कठिनाई अझै रहेको उनको भनाइ छ ।  

यसैबीच २०८१ को एसईईमा उत्कृष्ट नतिजा प्राप्त गर्न सफल विद्यार्थीलाई विद्यालयले बधाई, शुभकामना तथा शैक्षिक परामर्श गराएको छ । एसईईमा ए प्लस ल्याउन सफल २५ जना विद्यार्थीलई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।

सो अवसरमा एसईईमा ९० प्रतिशतभन्दा बढी विद्यार्थीलाई आफूले पढाएको विषयमा उत्तीर्ण गराउन योगदान दिने शिक्षकलाई समेत विद्यालयले सम्मान गरेको छ । 

एसईईमा अङ्ग्रेजी, नेपाली र कम्प्युटर शिक्षामा शतप्रतिशत उत्तीर्ण भएका छन् भने अन्य सबै विषयमा ९० प्रतिशत बढी विद्यार्थी उतीर्ण भएका छन् । 

सम्मानित हुनेमा अंग्रेजी विषयतर्फ सहायक प्रधानाध्यापक न्यौपाने, शिक्षक द्रोणनारायण पौडेल, धर्मराज बस्ताकोटी र राजीव पौडेल, नेपाली विषयतर्फ आत्माराम लम्साल, शारदा आचार्य, पुष्प खनाल र कम्प्युटर विज्ञानतर्फ सन्दीप श्रेष्ठ छन् ।

विद्यालयका प्रधानाध्यापक नरेन्द्र कुमार श्रेष्ठले विद्यालयको उपलब्धि र आगामी शैक्षिक योजनाबारे जानकारी गराउँदै प्राप्त नतिजा विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीको संयुक्त प्रयासको प्रतिफल भएको स्पष्ट पारे । 

कक्षा ११÷१२ का इञ्चार्ज रामचन्द्र खनालले विद्यालयमा कक्षा ११ को भर्ना खुलिसकेको जानकारी गराउँदै कम्प्युटर विज्ञानसहित व्यवस्थापन तथा शिक्षा समूहअन्तर्गत नेपाली र अङ्ग्रेजी दुबै माध्यममा पठनपाठन सुरु गरिने जानकारी दिए ।

रत्ननगर नगरपालिका प्रमुख प्रलाद सापकोटाको विद्यालयले शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा हासिल गरेको भन्दै मुक्तकण्ठले प्रशंसा गरे । 

उनले जनजागृति रत्ननगर र पूर्वी चितवनमै उत्कृष्ट विद्यालय भएको भन्दै जनजागृतिको शैक्षिक उन्नयनमा आफू सधैँ सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाए ।

विद्यार्थीलाई आगामी शैक्षिक यात्राको शुभकामना दिँदै उनले अब पढ्ने विद्यालय र विषय छनोट गर्दा विशेष ध्यान दिन सुझाव दिए । 

नगरभित्र कोही विद्यार्थी आर्थिक अभावका कारण शिक्षाबाट बञ्चित नहोस् भन्ने सोचका साथ नगरपालिकाले आवश्यक व्यवस्था गरेको उनले स्पष्ट पारे ।  

कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक विनोद अधिकारी, शिक्षक अभिभावक संघका अध्यक्ष लेखनाथ खनाल, कार्यपालिका सदस्य सानु भण्डारी, पूर्व विद्यार्थी नवराज रिजाललगायतले बोलेका थिए । 

सो अवसरमा निर्माण व्यवसायी समेत रहेका रिजालले रत्ननगर १४ बसोबास गरेर जनजागृति माविबाट एसईई परीक्षा दिई उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद १० हजार रुपैयाँसहित सम्मान गरेका थिए ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष मुकुन्दराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रधानाध्यापक आत्माराम लम्सालले स्वागत र सहायक प्रधानाध्यापक तथा सूचना अधिकारी न्यौपानेले सञ्चालन गरेका थिए ।

Copyright © 2024 | All rights reserved.