0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिकाद्धारा सञ्चालित निःशुल्क छात्रवृत्ति परीक्षाको नतिजा प्रकाशन भएको छ ।
शनिबार सम्पन्न परीक्षाको अप्टिकल मार्क रिकोजिनेशन प्रविधिद्वारा उत्तर पुस्तिका परीक्षण गरी नतिजा प्रकाशन गरिएको हो ।
परीक्षामा पास भई महानगर क्षेत्रमा सञ्चालित संस्थागत विद्यालयमा निःशुल्क छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीको सुविधाका लागि महानगरपालिकाले प्रत्येक वर्ष छनौट परीक्षा लिने गरेको छ ।
यसवर्ष विज्ञान विषयतर्फ एक सय ६२ जना, व्यवस्थापनतर्फ दुइ सय ४१ जना, होटेल व्यवस्थापनतर्फ ८० जना, कानुन, मानविकी र शिक्षातर्फ १४ जना गरी चार सय ९७ जना विपन्न, गरिब, जनजाति, दलित र जेहनदार लगायत लक्षित समुदायका विद्यार्थीलाई महानगरपालिकाले निःशुल्क छात्रवृत्तिको व्यवस्था गरेको हो ।
यस वर्षको छात्रवृत्ति छनौट परीक्षालाई थप व्यवस्थित, मर्यादित र विश्वसनीय बनाउने उद्देश्यले परीक्षणमा समेत प्रविधिको प्रयोग गरिएको नगर प्रमुख धनराज आचार्यले बताए ।
परीक्षामा उत्तीर्ण विद्यार्थीलाई तोकिएका विद्यालयमा निःशुल्क अध्ययनका लागि महानगरपालिकाले थप सहजीकरण गर्ने उनले बताए ।
महानगरद्वारा सिफारिस गरिएका विद्यार्थीलाई अनिवार्य भर्नाका लागि सम्बन्धित विद्यालयहरूलाई उनले निर्देशन समेत दिएका छन् ।
उत्तीर्ण विद्यार्थीलाई यही असार २५ गतेभित्र शिक्षा महाशाखामा सम्पर्क गरी भर्ना प्रक्रिया अघि बढाउन महानगरपालिकाले अनुरोध गरेको छ ।
Copyright © 2024 | All rights reserved.