0
प्रतिक्रिया
पोखरा । गण्डकी प्रदेशकाे सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा ‘दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना’ अन्तर्गत औद्योगिक प्रशिक्षार्थी तालिमका उत्कृष्ट शिक्षालय, उद्योगी र प्रशिक्षार्थीलाई एक कार्यक्रममा सम्मान गरिएको छ ।
शिक्षालयतर्फ निर्मल मावि व्यास तनहुँ प्रथम घोषित हुँदै रु ५० हजारसहित सम्मानित भयो भने धवलागिरी बहुप्राविधिक शिक्षालय, थासाङ मुस्ताङ द्वितीय रु ३० हजार, पोखरा प्राविधिक शिक्षालय तृतीय रु २० हजार र रणविर जनहित मावि, वालिङ स्याङ्जा चौथो रु १० हजार नगद सहित सम्मानित भए ।
चार वटा सीप तर्फ उत्कृष्ट उद्योगलाई रु २५ हजार नगद र सम्मान पत्र प्रदान गरियो। सम्मानित हुनेमा होटल व्यवस्थापनतर्फ पोखराको टेम्पल ट्री रिसोर्ट एण्ड स्पा, भवन निर्माणतर्फ जुम कन्स्ट्रक्सन, इलेक्ट्रिकल इञ्जिनियरिङतर्फ वालिङ स्याङ्जाको समिर इलेक्ट्रिकल्स तथा अटोमोबाइल इञ्जिनियरिङतर्फ पोखराकै अक्टोपस अटोमोबाइल प्रालि परे ।
प्रशिक्षार्थी श्रेणीमा समेत उत्कृष्टता प्रदर्शन गर्ने १६ जनालाई विभिन्न वर्गमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार स्वरूप नगद रकम क्रमशः रु १५ हजार, १० हजार, ७ हजार देखि ५ हजार तथा प्रमाणपत्रद्वारा सम्मान गरियो ।
जसमा होटल व्यवस्थापनतर्फ पोखरा प्राविधिक शिक्षालयका सन्दिप परियार प्रथम, पोखरा प्राविधिक शिक्षालयका निशान सुनार द्धितीय, धवलागिरी प्राविधिक शिक्षालयका सृजन अधिकारी तृतिय र पोखरा प्राविधिक शिक्षालयका रुपेश श्रेष्ठ चौथो भएका छन् ।
बिल्डिङ कन्सट्रक्सनतर्फ गण्डकी बहुप्राविधिक शिक्षालयका अरुण मल्ल प्रथम, गण्डकी बहुप्राविधिक शिक्षालयका सन्तोष पाण्डे द्धितीय, गण्डकी बहुप्राविधिक शिक्षालयका अस्गर मियाँ तृतीय र गण्डकी बहुप्राविधिक शिक्षालयका सारुख मोहमद मियाँ सान्त्वना भए ।
यस्तै, इलेक्ट्रिकल ईञ्जिनियरिङतर्फ रणवीर जनहित माविका समिर कार्की प्रथम, देवेन्द्र नेपाली दोस्रो, विवेक राम तेस्रो र दामोदर अर्याल सान्तवना भएका छन् । अटोमोबाईल ईञ्जिनियरिङतर्फ पोखरा प्राविधिक शिक्षालयका तेजेन्द्र थापा घर्ती पहिलो, विनम श्रीष द्धितीय, रोशन सुनार तृतीय, विवश गुरुङ सान्त्वना भए ।
कार्यक्रममा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले स्वदेशी स्रोतमै आधारित यस्ता कार्यक्रमलाई मन्त्रालयले निरन्तरता दिने प्रतिबद्धता जनाए ।
स्विस सरकार विकास सहयोग परियोजनालाई धन्यवाद दिँदै मन्त्री थापाले परियोजनाको निरन्तर सहयोगको समेत अपेक्षा गरेका छन् । युवालाई उद्योगी बन्न प्रेरित गर्ने र त्यसै अनुरुप बजेटको समेत व्यवस्थापन गरिएको भनाई उनको छ ।
सचिव नवराज ढकालले सीपयुक्त युवाशक्ति नै समृद्धिको आधार भएको उल्लेख गरे । नीजि क्षेत्रको विकास गरेर मात्रै राज्य अगाडि बढ्न सक्ने उनले बताए । सरकारले सहजीकरण मात्र गर्ने हुँदा सीप सिकेर उद्यमी बन्नतर्फ प्रेरित हुन युवालाई उनको आग्रह छ ।
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष संजीव बहादुर कोइरालाले निजी क्षेत्र सरकारसँग समन्वय गरी अगाडि बढ्न तयार रहेको बताए ।
विद्यार्थीले सरकारी लगानीलाई खेरा जान दिन नहुने अभिव्यक्ति उनको छ । सरकारले लगानी गर्ने र विद्यार्थी बीचमा नै छाड्ने प्रवृतिले यो क्षेत्रमा केही गर्न चाहने विद्यार्थीलाई समस्या भएको उनले उल्लेख गरे ।
सरकारले केही गरेन भनेर भाष्य सिर्जना गर्नु गलत भएको र पछिल्लो समय विकासको गतिविधि बढ्दै गएको उनले प्रष्टाएका छन् ।
उपसचिव तोयानाथ लम्सालले तालिम, उद्योग र शिक्षालयबीचको सहकार्यले कार्यक्रम प्रभावकारी बनेको बताए ।
औद्योगिक प्रशिक्षार्थाी तेजेन्द्र थापा घर्तीमगर, टेम्पल ट्री रिर्सोट एण्ड स्पाका एचआर म्यानेजर रामकृष्ण कँडेल र निर्मला माविका प्रधानाध्यापक गणेशचन्द्र बस्नेत लगायतले बोलेका थिए ।
उद्योग, विद्यालय र प्रशिक्षार्थी सबैको सहभागिता र उत्साहजनक योगदानले कार्यक्रम सार्थक बनेको सन्देश दिँदै वक्ताहरूले यस्ता अभ्यासले सीपयुक्त, रोजगारोन्मुख र आत्मनिर्भर युवाशक्ति निर्माणमा महत्वपूर्ण टेवा पुर्याउने विश्वास व्यक्त गरे ।
Copyright © 2024 | All rights reserved.