असार २५, २०८२, बुधबार

उपाधि विजेता नेपाली खेलाडीलाई राष्ट्रपतिद्वारा सम्मान


Advertisement Image
clock icon 2 days, 1 hour ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । मलेसियामा सम्पन्न एसीसी मेन्स यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्मान गरेका छन् । 

आइतबार राति स्वदेश फर्केको नेपाली खेलाडीलाई राष्ट्रिपति भवन शितलनिवासमा आयोजित एक कार्यक्रमका बीच पौडेलले सम्मान गरेका हुन् । 

फाइनलमा सिंगापुरमाथि दुई विकेटको सनसनीपूर्ण जित हासिल गर्दै नेपालले उपाधि जितेको हो ।

बांगीमा भएको खेलमा एक रनको अन्तरमा छैटौँ, सातौँ र आठौँ विकेट गुमाएर हारको नजिक पुगेको नेपालका लागि जोय थापा र अभय यादवको उत्कृष्ट एवं संयमित साझेदारीले नेपाल विजयी भयो । 

एक सय १४ रनको सामान्य चुनौँती पछ्याएको नेपालले ५८ रन जोड्दा पाँच तथा ९२ रन जोड्दा आठ विकेट गुमाइसकेको थियो । जोय र अभयले टिमलाई जिताए । 

नेपालले २९ ओभरमा आठ विकेटको क्षतिमा जित हासिल गर्यो । जोयले ५३ बलमा अविजित रहँदै २४ तथा अभयले १२ बलमा अविजित १० रन बनाए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले एक सय १३ रनमात्र बनाउन सक्यो । सिंगापरले ४०दशमलव५ ओभर खेलेर अलआउट भयो । 

नेपालका लागि अभय यादव र सुशीलबहादुर रावलले समान तीन, शुभम खनालले दुई तथा विपिनप्रसाद शर्माले एक विकेट लिए ।

नेपालले समूह चरणमै सिंगापुरमाथि छ विकेटको जित हासिल गरेको थियो । यो प्रतियोगितामा नेपाल अपराजित रहेर उपाधि जित्यो । 

सेमिफाइनलमा नेपालले मलेसियालाई र सिंगापुरले हङकङलाई हराएको थियो । नेपालले यो प्रतियोगिताभर उच्च स्कोर खडा गरेको छ । 

नेपालले मलेसियालाई सेमिफाइनलमा नौ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो । ९१ रनको झिनो चुनौती नेपालले ११दशमलव४ ओभरमै एक विकेटको क्षतिमा पूरा गर्यो । 

नेपालका लागि परिमार्जन यादवले ३५ बलमा अविजित रहँदै ५९ तथा श्रीवांश बजगाईंले २२ बलमा अविजित रहँदै २३ रन बनाए । 

यसअघि खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्दै मलेसियालाई सस्तैमा समेट्यो । मलेसियाले ४३दशमलव१ ओभरमा अलआउट हुँदै ९० रनमात्र बनायो । 

मलेसियाका लागि मोहम्मद फातुल मुइनले सर्वाधिक ३८ रन बनाए । नेपालका लागि अभय यादवले १५ रन खर्चेर चार तथा शुबम खनालले १२ रन खर्चेर तीन विकेट लिए ।

Copyright © 2024 | All rights reserved.