0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिकाले दुई उत्कृष्ट कृषकलाई महानगर उत्कृष्ट कृषक सम्मान गरेको छ ।
कृषितर्फ पोखरा-२५ मा सञ्चालित सावित्री हराभरा एकीकृत कृषि फर्मका सञ्चालक चित्रनाथ पौडेल र पशुपालनतर्फ पोखरा-१९ मा सञ्चालित नेपाल लाइभ स्टक एन्ड रिसर्च सेन्टरकी सञ्चालक सरस्वती बस्ताकोटीलाई यस वर्षको महानगर उत्कृष्ट कृषक सम्मान प्रदान गरिएको हो ।
उनीहरूलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नगद र सम्मान पत्रले सम्मान गरे ।
सम्मानित कृषक पौडेलले ३३ रोपनी क्षेत्रफलमा विभिन्न प्रकारको खेती गरेका छन् । उनले १० रोपनी क्षेत्रफलमा धान, चार रोपनीमा वर्षे तरकारी, चार रोपनीमा हिउँदे तरकारी, १८ रोपनीमा बेमौसमी तरकारी लगाएका छन् ।
२०५५ सालमा दुई वटा प्लास्टिक घरबाट सुरु भएको कृषि व्यवसाय हाल ९५ वटा प्लास्टिक घरमा विस्तार भएको छ । सय जनालाई रोजगारी र लाखौँ रुपैयाँ आम्दानी हुने गरेको छ ।
उनले आफू उत्कृष्ट महानगर कृषकको रूपमा सम्मानित हुन पाउँदा खुसी व्यक्त गरेका छन् भने कृषकलाई प्रविधि र ज्ञान हस्तान्तरणमा सहयोग गर्न आग्रह गरे ।
यस्तै कृषक बस्ताकोटीले पोखरा-१९ मा १७ रोपनीमा घान खेती, दुई सय बङ्गुर पालेकी छन् । गाई फार्मसमेत रहेको उनले दैनिक दुई सय लिटर दूधसमेत उत्पादन गर्दै आएकी छन् ।
सो अवसरमा महानगरपालिकामा उल्लेखनीय कार्य गर्ने थप १० कृषक समूहलाई पनि सम्मान प्रदान गरिएको छ ।
कृषि एम्बुलेन्स परिचालन, साप्ताहिक हात बजार सञ्चालन र कौशीखेती व्यवस्थित रूपमा सञ्चालन गरेबापत वडा स्तरीय कृषि सञ्जाल वडा नं.७, मौरी पकेट कार्यक्रम र नियमित अनुगमन बापत वडा स्तरीय कृषि सञ्जाल वडा नं.१६, व्यवसायिक कागुनो खेती, गहुँ उत्पादन र तरबुजा खेती प्रवर्द्धन बापत पिपलडाली काफल घारी कृषक समूह पोखरा-२८, नियमित किसान बजार सञ्चालन गर्ने किसान बजार व्यवस्थापन समिति पोखरा-१३ र स्थानीय बालिका जात संरक्षणमा क्रियाशील जैविक स्रोत अभियान बेगनास पोखरा-३१ लाई नगद सहित सम्मान गरिएको हो ।
यस्तै व्यवसायिक काँक्रो खेती गर्ने उल्लेरी चिप्लेटी अन्नपूर्ण कृषक समूह पोखरा-२२, रासायनिक मल वितरणलाई व्यवस्थित गर्ने प्रभु धाम हरियाली कृषि सहकारी पोखरा-१३, कागती सुन्तला, कफी, घाँसका बिरुवा उत्पादन गर्ने कयरबारी बहुउद्देश्यीय कृषि नर्सरी पोखरा-२३, भर्मी कम्पोस्ट मल उत्पादन गर्ने ग्रिन नेपाल जननी भर्मीकम्पोष्ट पोखरा-१४ र जेठो बुढो तथा आलुको बीउ उत्पादन गर्ने लक्ष्मी सिड सेन्टरलाई पनि सम्मान गरिएको छ ।
उनीहरूलाई सम्मान प्रदान गर्दै नगर प्रमुख आचार्यले महानगरपालिका क्षेत्रको कृषिलाई प्रविधिमैत्री बनाउँदै उत्पादन र उत्पादकत्व वृद्धिमा आफूहरूले जोड दिइरहेको बताए।
कृषि उपजमा महानगरपालिकालाई आत्मनिर्भर बनाउनका लागि उत्पादनमा वृद्धिमा उनले जोड दिए । उनले कृषकलाई आवश्यक प्राविधिक सेवासहित मल, बिउ, बिरुवा र पशुपालनमा समेत प्रोत्साहनका थुप्रै कार्यक्रममा अनुदान तथा साझेदारी गर्न सकिने बताए ।
Copyright © 2024 | All rights reserved.