असार २५, २०८२, बुधबार

कास्कीका तीन नेता नेपाली कांग्रेसबाट निष्काशित


Advertisement Image
clock icon 3 hours, 37 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली कांग्रेसले गत निर्वाचनमा आफ्नो दलका उम्मेद्वारलाई पराजित गर्न भूमिका खेलेको आरोपमा कास्कीका पूर्वसभापति कृष्णबहादुर केसी, महासमिति सदस्य कुमार खड्का र कास्की क्षेत्र नं. २ का क्षेत्रीय सहसचिव भावना श्रेष्ठलाई कार्वाही गरेको छ । 

केन्द्रीय अनुशासन समितिको मिति यही असार ९ देखि १७ गतेसम्म बसेको बैठक निर्णय बुधबार सार्वजनिक गरिएको छ । जसमा केसीलाई तीन महिना र खड्कालाई एक वर्ष निलम्बन गरिएको छ । साथै श्रेष्ठलाई छ महिनाका लागि निष्काशन गरिएको बताइन्छ । 

खड्का र श्रेष्ठले गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा प्रदेशसभा सदस्य पदको निर्वाचनमा होमिँदा असहयोग गरेको आरोप छ । थापाले निर्वाचन भने जितेका थिए । खड्काले थापाकै स्थानमा निर्वाचन लड्ने अपेक्षा राखे पनि पार्टीले थापालाई टिकट दिएको थियो । श्रेष्ठ भने पोखरा ९ वडा सदस्यसमेत हुन् । 

यसैगरी पूर्वसभापति केसीमाथि पार्टी सभापतिसमेत रहेका किशोरदत्त बराल कास्की क्षेत्र नं १ बाट निर्वाचनमा होमिएका बेला सहयोग गर्नुको साटो हराउन भूमिका खेलेको आरोप छ । निर्वाचनको मत परिणामलगत्तै केसीको घरमा ढुंगामुढासमेत भएको थियो । 

स्थानीय, प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा आफ्ना उम्मेदवार वा पार्टीले समर्थन गरेकालाई पराजित असहयोग गरेको कारणले कारबाही गरेको उल्लेख गरिएको छ । कारबाही निस्कासन र निलम्बन गरी दुई प्रकृतिको गरिएको छ ।

साथै लुम्बिनीका महामन्त्री विक्रम खनाल, खोटाङ जिल्ला सभापति विष्णुकुमार राईलाई पनि एक वर्षका लागि निस्काशन गरिएको छ । 

यस्तै तेह्रथुमका महासमिति सदस्य तुलसी सुब्बा, पर्सा जिल्ला क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरविन्दकुमार गुप्ता, धनुषाको लक्ष्मीनीया गाउँपालिकाका सभापति आनन्द यादव, धनुषाकै सबैला नगरपालिकाका नगर सभापति खटरु यादव, धनुषाधाम नगरपालिका वडा नं. १ का रामवावु यादव र मुखियापट्टी मुसहरनियाका सभापति फुलगेन यादवलाई छ महिनाका लागि पार्टीबाट हटाइएको छ ।

यस्तै कैलाली धनगढी उपमहानगरपालिका वडा नं. २ का महाधिवेशन प्रतिनिधि भिमबहादुर शाह, कैलालीका निवर्तमान जिल्ला सचिव पूर्णकुमार कुँवर, धनगढी उपमहनगरपालिका वडा नं. १ का पूर्व महासमिति सदस्य आनन्दराज जोशी, धनगढी उपमहानगरपालिका वडा नं. २ का क्षेत्रीय प्रतिनिधि रविन्द्रप्रताप सिंह, क्रियाशील सदस्य लेखराज ओझा, धनगढी उपमहानगरपालिका वडा नं. १ का क्रियाशील सदस्य सुभास चन्द, धनगढी उपमहानगरपालिका वडा नं. ५ का पूर्व महाधिवेशन प्रतिनिधि बब्लुकुमार चौधरीलाई पनि छ महिनाका लागि निस्काशन गरिएको छ ।

कारबाही गरेकाहरुलाई स्पष्टीकरण सोधिएको र चित्तबुझ्दो जवाफ नदिएको अनुशासन समितिले जनाएको छ ।

Copyright © 2024 | All rights reserved.