साउन ०४, २०८२, शनिबार

कांग्रेसको मुख्य समस्या पैतलामा होइन टाउकोमा छ : नेता भट्टराई


clock icon 1 week, 1 day ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली कांग्रेसका नेता एवं महासमिति सदस्य सुदीपमोहन भट्टराईले नेपाली कांग्रेसको मुख्य समस्या पैतलामा नभई टाउकोमा रहेको बताएका छन् । पार्टीले केही नेताहरुलाई पार्टीबाट निष्काशन गरेको प्रसंग उप्काउँदै उनले यस्तो बताएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै नेता भट्टराईले भने, ‘नेपाली कांग्रेस पार्टीको मुख्य समस्या पैतलामा होइन टाउकोमा छ !’

नेता भट्टराईले कांग्रेस केन्द्रीय अनुशासन समितिको निर्णयलाई दुर्भाग्यपूर्ण, घोर आपत्तिजनक र भत्र्सना योग्य रहेको उल्लेख गरे । 
उनले लेखेका छन्, ‘नेपाली कांग्रेसका महासमिति सदस्य पूर्वमन्त्री कुमार खड्का, नेपाली कांग्रेसका महासमिति सदस्य एवं नेपाली कांग्रेस कास्कीका पूर्वसभापति कृष्णबहादुर केसी नेपाली कांग्रेस क्षेत्र नं.२ कास्कीका सहसचिव भावना श्रेष्ठलगायतले दिएको स्पष्टीकरण चित्त बुझ्दो नदेखिएको भन्दै नेपाली कांग्रेसको सदस्यबाट निस्काशन गर्ने नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको निर्णय दुर्भाग्यपूर्ण, घोर आपत्तिजनक र भत्र्सना योग्य छ ।’ 

उनले थपे, ‘जाल, झेल, षडयन्त्र र प्रपञ्चका तानावाना बुनेर जमिनमा रहेर भुइँतहको पार्टी संगठन निर्माण र बिस्तार को लागि डटेका, खटेका, लडेका र नागरिकसँग पार्टी संगठनलाई जोड्ने कुमार खड्का र कृष्ण केसी साथै भावना श्रेष्ठको राजनीतिक सम्भावनालाई निर्ममतापूर्वक सफाया गर्नु पार्टीबाट निष्काशन गर्नुले अन्तत कसैको भलो गर्दैन कास्की काँग्रेस थप समस्याग्रस्त भइरहने छ थप आघात पुग्नेछ ।’

नेता भट्टराईले नेपाली कांग्रेस पार्टी भित्रका कुमार खड्का र कृष्ण केसी भन्दा नेपाली कांग्रेस बाहिरका कुमार खड्का र कृष्ण केसी पार्टीका लागि महंगो सावित हुनसक्ने सामान्य ज्ञानको किन हेक्का नराखेको भन्दै प्रश्न समेत गरेका छन् ।

स्वजनलाई मारेर राज्य भोग गर्नु भन्दा भिख मागेर खानु वेश हुने उनको टिप्पणी छ । 

केन्द्रीय अनुशासन समितिले खाटा बसिसकेको घाउ कोट्याएर टार्नै नसकिने, समाधान नै गर्न नसकिने खालको दीर्घकालीन द्वन्द्वमा कास्की कांग्रेसलाई धकेलेको उनको दावी छ ।

‘यो निर्णयबाट कार्यकर्ताहरु दयामा बाँच्ने प्राणी हुन भन्ने मान्यता नेतृत्वमा विकसित भएको देखिन्छ, त्यसैले नेपाली कांग्रेस केन्द्रिय अनुशासन समिति राजनीतिक प्रतिशोधको बधशालामा रुपान्तरित भएको आम कार्यकर्तालाई महसुस हुन पुगेको छ’, उनले भने ।

उनले लेखेका छन्, ‘सामाजिक अपिल गर्ने नैतिक पूँजीको ह्रास भएको नेतृत्वबाट पार्टीको १५औं महाधिवेशन र ०८४ को आम निर्वाचन नजिकिँदै गर्दा जनतामा बलियो पकड भएका ब्यापक संभावना बोकेका नेता कार्यकर्ताको सदस्यता खोसेर गरेको मत्स्य न्यायको प्रति एकताबद्ध भइ डटेर प्रतिवाद, मुकाविला र सामना गर्न सम्पूर्ण साथीमा अपिल गर्दै, बदनीयतपूर्ण निर्माण सच्याउन जोडदार माग गर्दछु ।’

Copyright © 2024 | All rights reserved.