असार ३१, २०८२, मंगलबार

कारवाही फुकुवाका लागि निवदेन चढाउन मेरो स्वाभिमानले दिँदैन : नेता केसी


clock icon 10 hours, 27 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली कांग्रेस नेता एवं कांग्रेस कास्कीका पूर्व सभापति कृष्णबहादुर केसीले कसैलाई निवेदन चढाएर कारबाही फुकुवाको पक्षमा आफू नरहेको बताएका छन् । काठमाडौंमा सोमबार आयोजित विशेष भेलामा नेता केसीले यस्तो बताएका हुन् ।

लोकतन्त्रका लागि कसैसँग हातपाउ नजोडेको मान्छेले पार्टीले गरेको कारबाही फिर्ताका लागि निवेदन चढाउने आफ्नो स्वाभिमानले नदिने उनल स्पष्ट पारे । 

उनले भने, ‘हामीलाई फुकुवाका लागि निवदेन दिएमा कारबाही फुकुवा गर्न सकिने आशयका कुरा बाहिरिएका छन्, तर हामी त्यसो गर्दैनौँ ।’

केसीले जस्ले गरेको हो, जुन् गुटले गरेको हो हामीलाई त्यसमा आफूलाई विश्वास नभएको बताए । 

उनले प्रश्न गरे, ‘गुटका मान्छेले टिकट पाउने, जनतासँग अहोरात्र खटिँदै आएकालाई पाखा लगाउने के यही हो सच्चा काम ?’

‘२०४६ सालमा राजा वीरेन्द्र पोखरा आउँदाको बखतमा म सर्वश्व हरणमा परेको र जेलमा थिएँ, २५ वर्ष जिल्ला पञ्चायतको सभापति खाइसकेका अम्मरबहादुर कार्की नाताले भेना हुन्, उहाँले अब जम्मै कुराहरु छोड्नु पर्यो, कहाँ ? कसरी सेटल गर्नुपर्छ म गर्छु राजासँग कुरा भइसकेको छ त्यही भएर म जेलमै भेट्न आएको भनेर भन्नुभयो’, केसीले भने । 

उनले प्रसंग कोट्याउँदै भने, ‘मैले जवाफ दिएँ, म लोकतन्त्रमा विश्वास गर्ने, पार्टी र जनतालाई सिरोपर गरेर लागेको मान्छेले त्यस्तो काम गर्न सक्दिन र निवेदन चढाएर जेलमुक्त हुनुछैन भनेर जवाफ दिएको थिएँ ।’

अहिले मलाई फुकुवा गर्देउ भनेर निवेदन चढाउ भन्ने खालको कुरा आइरहँदा त्यसो गर्न आफू तयार नभएको उनले स्पष्ट पारे । 

नेता केसीले भने, ‘बरु कारबाही यथावत् राखेको खण्डमा र हामीले विकल्प खोज्नु पर्यो भने यसको जवाफ २०८४ को चुनाव दिइन्छ, पार्टीले बाहिर राख्यो भने स्वतन्त्र भएर पनि चुनाव लडेर, जितेर देखाइदिन सकिन्छ ।’

त्यो क्षण भारी हुने भन्दै उनले तर आफू चुनाव जितेर कांग्रेसमै रहने स्पष्ट पारे ।

गत निर्वाचनमा पार्टीका उम्मेद्वारलाई सहयोग नगरेको आरोपमा कांग्रेसको अनुशासन आयोगले कारबाही गरेकामध्ये कास्कीबाट नेता केसी, कुमार खड्का, भावना श्रेष्ठ छन् ।

कारबाहीकै विषयलाई लिएर कांग्रेसभित्र र बाहिर चर्चा र चौतर्फी आलोचना भइरहेको छ । कारबाहीप्रति कार्यकर्ता तथा उच्च तहका नेताहरु र स्वयं अनुशासन आयोगकै नेताहरुले चरम असन्तुष्टि व्यक्त गरिरहेका छन् ।

नेताहरुले कारबाहीको सन्देशले बेमौसमी बाजा बजाइएको, दुनियाँ हसाएको बताइरहेका छन् भने निःशर्त फिर्ता नगरे कांग्रेसकै लागि प्रत्युत्पादक हुने जिकिर गरिरहेका छन् ।

Copyright © 2024 | All rights reserved.