साउन ०१, २०८२, बुधबार

आज एकै दिन दुई पटक लाभ बेला परेको छ, श्रीकृष्णको प्रिय दिनमा राशिफल कस्तो होला ?


clock icon 8 hours, 58 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः ।।

आजको पञ्चाङ्ग

मिति २०८२ असार ३२ गते बुधबार, इस्वीसंवत जुलाइ १६ तारिक सन् २०२५, श्रीशाके १९४७, नेपाल संवत् ११४५, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार श्रावणकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज श्रावणकृष्णपक्षको षष्ठी तिथि रातिमा ८ः१५ बजेसम्म त्यसपछि सप्तमी तिथि लाग्नेछ । नक्षत्रमा पूर्वाभाद्रपदा बिहानमा ६ः०४ बजेसम्म त्यसपछि उत्तरभाद्रपदा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा शोभन १९ घटि ०१ पलासम्म त्यसपछि अतिगण्ड योग रहनेछ । करणमा गर रहनेछ । आनन्दादि योगमा पद्य रहनेछ ।

सूर्य मिथुन राशिमा, चन्द्रमा मीन राशिमा रहनेछ । आज दिनमान ३४ घटि ९ पला अर्थात १३ घण्टा ४२ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहानमा ५ः१९ बजे तुरुदेव मुहूर्तमा भइसकेको छ भने सूर्यास्त साँझमा ठीक ६ः५९ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने समय रातिमा १०ः३९ बजे र अस्ताउने समय भोलि बिहानमा १०ः२६ बजे रहेको छ । 

आजको राशिफल

मेषः आज जुनसुकै काम सम्हाल्दा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ, अझ आर्थिक पक्ष हो भने सानातिना खर्चको पनि हेक्का राख्नु होला । महत्त्वहीन र बेकारका काममा समय नबिताउनु होला, बरु मन स्थिर छैन भने एकछिन आराम गरेर फेरि पठनपाठनमा जुट्नु ठीक हुनेछ । एकाग्रतामा कमी हुने भएकाले कुनै एउटा विषयमा मात्र ध्यान केन्द्रित गर्न सकिंदैन, हेर्दा बाहिरबाट सामान्य झैं देखिनु हुन्छ, तर भित्रबाट मँडारिएको भावनाको बेगलाई कसैले पनि बुझ्न सक्दैनन् ।

बृषः आज विगतमा गरिएको मिहिनेत र लगनशीलताको पुरस्कार प्राप्त हुने सुन्दर दिन हो, बोनस वा अतिरिक्त आम्दानीको सम्भावना पनि रहेको छ । भावना साटासाट गर्न पाइने र एकान्तमा रमाउन पाउँदा प्रेमसम्बन्ध अझ प्रगाढ बन्दै जाने समय देखिन्छ, प्रेमीबाट कुनै उपहार प्राप्त हुनेछ । नयाँ ठाउँको यात्रा वा नयाँ मित्रको सङ्गतबाट आनन्द लिने समय हो । प्रतिष्ठित व्यक्तिलाई मित्र बनाउन पाउँदा दङ्ग पर्न सक्नुहुन्छ ।

मिथुनः आज आत्मविश्वास र दृढतामा बृद्धि हुनुका साथै मज्जाले परिश्रम गर्ने दिन हो । कारोबारमा बेफाइदा हुँदैन, तर पारिवारिक सम्बन्धमा निरसता देखिने छ । दौडधूप र धपेडी गर्ने समय छ । काममा कसैको साथसहयोग मिल्दैन, तर व्यक्तित्व विकास र प्रतिष्ठा प्राप्तिको प्रयासमा उपलब्धि लिन सकिने छ । करियर र भविष्यको सोच सलबलाउनेछ, कोसिस गरेमा कला, वाणिज्य, व्यवस्थापन र शिक्षाशास्त्रका उच्च तहका विद्यार्थीले कुनै अवसरसमेत पाउन सक्नुहुन्छ ।

कर्कटः आज हातमा सह भएको दिन छ, नयाँ काममा हात हाल्दै हुनुहुन्छ भने यसले सकारात्मक गति समात्नेछ । सही समय र स्थान छनौट गर्न सके हरेक कदम सफल हुनेछन् । दैवले साथ दिने समय हो, जस्तोसुकै समस्या आइलागे पनि बुद्धि खियाएर काम गर्नुहोस्, सफल बन्न सक्नुहुन्छ । रोमान्टिक जीवनभन्दा पनि यतिवेला घरपरिवार र अभिभावक महत्त्वपूर्ण बन्नसक्छन्, भावनालाई नियन्त्रण गरी कुराकानी गर्ने र पार्टनरलाई फकाउने प्रयास गर्नुहोला ।

सिंहः आज लेनदेनको कारोबारमा सतर्कता अपनाएको राम्रो हुन्छ । गिन्ती बिग्रिएर घाटा पर्नसक्छ । साथीभाइ र सहयोगीहरूले पनि फरक व्यवहार देखाउने दिन हो । अस्वस्थ हुनुहुन्छ भने समय निकालेर आराम गर्नु ठीक हुन्छ । खनिज पदार्थ र पुरातात्त्विक चिजबीजको व्यवसायमा फाइदा देखिन्छ । मनोबल र आँतमा कमजोरी देखा पर्नसक्छ, कामधाम र जिम्मेबारीमा मात्र होइन, आफ्नो तन्दुरुस्ती र स्वास्थ्यपक्षको पनि ख्याल राख्नुपर्छ ।

कन्याः आज कलात्मक कार्य (अभिनय, गायन, वादन, नृत्य, भिडियो वा चलचित्रको काम, डेकोरेशन, ड्रेस डिजाइनिङ) जस्ता काम अथवा उपहार वा मनोरञ्जनका सामाग्रीमा राम्रो देखिन्छ । मनोरञ्जनात्मक क्रियाकलापमा संलग्न हुने तथा भोजन र परिकारको स्वादमा रमाउने दिन छ, तर पनि जीवनसाथीको इच्छा र रुचिलाई ध्यान दिनु ठीक हुन्छ । तपाईंलाई गुरुवर्ग र अभिभावकले निकै भरोसा र विश्वास राखेको देखिन्छ, अतः लक्ष्यप्रति सचेत भई टुप्पी कसेर मिहिनेत गर्ने समय छ ।

तुलाः आज शत्रु र प्रतिद्वन्द्वी वरिपरि छन् भन्ने हेक्का राखी काम गर्नुहोला, कुनै विशेष काम गर्नुछ भने तौरतरिका र योजनालाई गोप्य राख्ने प्रयास गर्नुपर्छ । प्रेमीको स्वास्थ्यस्थिति वा कार्यक्षेत्रमा समस्या उत्पन्न हुनाले मन निराश बन्नसक्छ, तर पनि मौका मिलाएर भावना साटासाट गर्न पाउँदा शान्तिको अनुभूति हुनेछ । नियमित कामधन्दा र दैनिकी सञ्चालनका क्रममा फुर्तिको अनुभूति हुनेछ । प्रयास गरेमा चलिरहेको आर्थिक समस्याको हल हुनसक्ने समय छ ।

बृश्चिकः आज छोराछोरीको क्रियाकलाप र उन्नति÷प्रगति देखेर दंग पर्ने तथा सुखानुभूति हुने दिन हो । परिवारजनको सहमति जुट्नाले नचिताएको काम सम्पन्न गर्न सकिने छ । बौद्धिकतामा निखार आउने दिन हो, अतः विषयवस्तुप्रति गम्भीर बन्न प्रयास गर्नुहोला, पढाइमा लगाव बढाउनुपर्छ, सोचेजस्तै रिजल्ट पाउन सकिने छ । शिक्षादीक्षाका क्षेत्रमा लागेका व्यक्तिले क्षमता प्रदर्शन गरी स्याबासी पाउन सक्ने दिन हो । सामान्य जनले समेत ज्ञानगुन, अध्यात्म र दार्शनिक विषयमा आकर्षण देखाउनेछन् । बौद्धिक र लेखनकार्यमा सफलता मिल्नेछ ।

धनुः आज पारिवारिक समस्याले खिन्न बनाउनेछ, तर आज लापरबाही गर्ने वा भुलिने दिन होइन किनभने आज गरेको मिहिनेतले राम्रो रिजल्ट दिनसक्छ । मानसिक अस्थिरताको समय हो, मेसो नमिल्नाले पनि काममा ढिलासुस्ती हुनसक्छ, असाध्यै दौडधूप गर्नुपर्ने समय छ, सानो लापरवाहीले पनि ठूलो नोक्सानी हुनसक्छ, अतः महँगा चिजबीजको प्रयोग गर्दा सावधान रहनुहोला । आत्मविश्वासमा बृद्धि हुनेछ तर कामको चाप बढ्ने समय हो, तथापि साथीभाइको सहयोग लिएर काम गरेमा सबै काम पूरा गर्न सकिने छ ।

मकरः आज भावना र मनको कुरो सेयर गर्ने कुनै साथी छ भने ऊ तपाईंप्रति आकर्षित भएको हुनुपर्छ, अतः उसको निकटतालाई नगुमाउनु राम्रो हुन्छ । कार्यक्षेत्रमा उत्साहवर्द्धक परिणाम प्राप्त हुनेछ । नवीन रोजगारी वा नयाँ कारोबारप्रति आकर्षण देखिन्छ, नचिताएको काम पूरा हुने दिन हो । कामप्रतिको समर्पण भावका माध्यमबाट ठूलो लाभ मिल्ने समय छ, साथै बोली र व्यवहारका बलमा सेवाग्राहीलाई आकर्षित तुल्याउन सकिने छ ।

कुम्भः आज एक्लै हुनुहुन्छ भने अब निराश हुनुपर्दैन, आज त्यस्तो व्यक्तिसँग चिनजान हुनेछ, जसले तपाईंको मनभित्रको उजाड फूलबारीलाई रङ्गीन बनाउन सक्छ । नौलो विषयमा चासो देखाउनु तथा नयाँ ठाउँमा धन लगानी गर्नु उचित समय छैन, दैनिकी सञ्चालनमा समेत बाधा झेल्नुपर्ने समय छ । नाफाका दृष्टिले राम्रै समय देखिन्छ, तर वाचा पूरा गर्न नसक्नाले सेवाग्राहीको आलोचना खेप्नुपर्ने हुन्छ, बोली र व्यवहारमा नम्रता अपनाउनु होला ।

मीनः आज लगनशील भई परिश्रम गरेमा उत्कृष्ट परिणाम प्राप्त हुनेछ, आजको सानो प्रयासमा भाग्यको समेत साथ पाउनाले राम्रो रिजल्ट आउने छ । आत्मबल बढ्ने छ, नयाँ ज्ञान प्राप्त गर्ने वा विगतको सिकाइ अनुभवको प्रयोग गरी अघि बढ्ने समय हो । धन वा प्रतिष्ठाको बृद्धिका लागि चालेका हरेक प्रयास सफल हुनेछन् । लामो समयदेखि सुल्झाउन नसकेको मुद्दालाई किनारा लगाउन सकिने छ, मुल्तवी र तामेलीमा परेका फाइलमा घोत्लिंदा धन र मान दुबै पक्षमा बढोत्तरी हुनेछ ।  

साहित (यात्रा): सूर्य मिथुन राशिमा, चन्द्रमा मीन राशिमा रहनेछ । त्यसैले पश्चिमबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बुधबार परेकाले उत्तरतर्फको यात्रा गर्दै नगर्नुहोला । आज दक्षिण, पूर्र्व र उत्तरतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ५ः१७ बजेदेखि ७ः०० बजेसम्म लाभ बेला
बिहान ७ः०० बजेदेखि ८ः४३ बजेसम्म अमृत बेला
बिहान ८ः४३ बजेदेखि १०ः२६ बजेसम्म काल बेला
बिहान १०ः२६ बजेदेखि १२ः०९ बजेसम्म शुभ बेला
दिनमा १२ः०९ बजेदेखि १ः५२ बजेसम्म रोग बेला
दिनमा १ः५२ बजेदेखि ३ः३५ बजेसम्म उद्धेग बेला
दिनमा ३ः३५ बजेदेखि ५ः१८ बजेसम्म  चर बेला
दिनमा ५ः१८ बजेदेखि ७ः०२ बजेसम्म लाभ बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ७ः०२ बजेदेखि ८ः१८ बजेसम्म अमृत बेला
साँझ ८ः१८ बजेदेखि ९ः३५ बजेसम्म काल बेला
राति ९ः३५ बजेदेखि १०ः५२ बजेसम्म शुभ बेला
राति १०ः५२ बजेदेखि १२ः०९ बजेसम्म रोग बेला
राति १२ः०९ बजेदेखि १ः२६ बजेसम्म उद्धेग बेला
राति १ः२६ बजेदेखि २ः४२ बजेसम्म चर बेला
रातिमा २ः४३ बजेदेखि ४ः०० बजेसम्म लाभ बेला
रातिमा ४ः०० बजेदेखि ०५ः१७ बजेसम्म अमृत बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः मध्यान्हमा १२ः०० देखि १ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

Copyright © 2024 | All rights reserved.