साउन १६, २०८२, बिहीबार

कास्कीमा ७७ प्रतिशत रोपाईं सम्पन्न


Advertisement Image
clock icon 2 weeks, 1 day ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । कास्कीमा हालसम्म ७७ प्रतिशत धान रोपाईं भएको छ । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार कास्कीमा ७७ प्रतिशतसहित गण्डकी प्रदेशमा ७१ प्रतिशत रोपाईं सकिएको छ ।

प्रदेशमा कुल ६६ हजार नौ सय हेक्टरमा रोपाईं भइसकेको निर्देशनालयलका कृषि अर्थ विज्ञ मनोज पौडेलले जानकारी दिए ।

धान रोपाईं हुने प्रदेशका ९ जिल्लामध्ये सबैभन्दा बढी लमजुङमा ८६ र सबैभन्दा कम पर्वतमा ६० प्रतिशत रोपाईं भएको छ । यस्तै नवलपुरमा ७५ प्रतिशत, तनहुँमा ७४, बागलुङमा ६७, म्याग्दीमा ६५, स्याङ्जामा ६२ र गोरखामा ६१ प्रतिशत रोपाइँ भएको हो ।  

साउन पहिलो हप्तासम्ममा अधिकांश क्षेत्रको रोपाईं सकिने अनुमान गरिएको छ । प्रदेशका मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा धान खेती हुँदै आएको छ ।

यस वर्ष ९४ हजार एक सय ८२ हेक्टर क्षेत्रफलमा धान खेती हुने निर्देशनालयको अनुमान छ । 

गत वर्ष ९६ हजार ५३ हेक्टर र आव २०७९-८० मा ९७ हजार सात सय ६९ हेक्टरमा धान खेती गरिएको थियो । 

कास्की, नवलपुर, स्याङ्जा, तनहुँलगायत जिल्लामा धान खेतीको क्षेत्रफल बढी छ। गोरखाको छेवेटार, पालुङटार, आरुघाट, सिरानचोक, लमजुङमा धमिलीकुवा, हर्राबोट, भोर्लेटार, करापुटार, तनहुँको चुँदीफाँट, सत्रसय फाँट, कलेस्तीफाँट, कास्कीको मकैखोला, हाँडीखोला, पामे र लेखनाथ धानको पकेट क्षेत्र हुन् । 

पर्वतको फलेबास, जलजला, स्याङ्जाको पुतलीबजार, आँधीखोला, गल्याङ, म्याग्दीको भगवती, पिप्ले, घतान, बागलुङको बडिगाड, गलकोट, जैमिनी र नवलपुरको कावासोती, गैँडाकोटलगायतलाई धानका पकेट क्षेत्र तोकिएको छ । 

गण्डकीमा सावित्री, रामधान, जेठोबुढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनुसली, सुनौलो सुगन्धलगायत जातका धान खेती गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

Copyright © 2024 | All rights reserved.