0
प्रतिक्रिया
पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले ज्येष्ठ नागरिकका बारेमा जनचेतना अभिवृद्धि आवश्यक रहेको बताएका छन् ।
ज्येष्ठ नागरिकलाई सम्मान आत्मानुभूतिको आवश्यकता पर्ने भएकाले ज्येष्ठ नागरिकप्रति गरिने व्यवहारका बारेमा सचेतना आवश्यक रहेकोमा उनले जोड दिए ।
जेष्ठ नागरिक सरोकार समाज कास्कीको आयोजनामा पोखरा-३१ मा सञ्चालित शिव महापुराण धार्मिक समारोहको शुभारम्भ गर्दै प्रदेश प्रमुखले ज्येष्ठ नागरिकलाई संगठित गरी उनीहरुका समस्याको पहिचानको साथै समाधानका उपायको खोजी गर्नुपर्नेमा जोड दिए ।
नेपालमा हरेक वर्ष पुस ११ लाई राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउन थालिएको बताउँदै प्रदेश प्रमुखले ज्येष्ठ नागरिकको मानव अधिकारको संरक्षण, स्वस्थ र मर्यादित जीवनशैलीको प्रवर्द्धन र उनीहरूमाथि हुने दुर्व्यवहार, हिंसा र विभेदको रोकथाम जरुरी रहेको उल्लेख गरे ।
ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाको प्रत्याभूति दिनु राज्यको दायित्व भएको उल्लेख गर्दै उनले राज्य सँगसँगै ज्येष्ठ नागरिकका क्षेत्रमा विभिन्न सङ्घसंस्था तथा निजी स्तरले पनि सरोकार राख्न थालेकोमा खुशी व्यक्त गरे ।
असहाय, निःसहाय, दीनदुःखी ज्येष्ठ नागरिकको संरक्षणका लागि मानव सेवा आश्रम, सामुदायिक वृद्धाश्रमले काम गरिरहेका छन्’, उनले भने, ‘सामाजिक रूपमा सम्मान गर्ने परम्पराको विकास हुँदै गएको छ, जुन खुशीको कुरा हो ।’
धार्मिक तथा सांस्कृतिक गतिविधिलाई प्रवर्द्धन गर्ने उद्देश्यले समाजले गरेको शिव महापुराण महायज्ञ, ब्राह्मणद्वारा हवन, पूजा अर्चना आदि कार्यक्रमबाट धार्मिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।
समाजमा धार्मिक सहिष्णुता कायम गर्दै मानवकल्याण र विश्व शान्तिका लागि धार्मिक धामको सुदृढ व्यवस्थापन साथै संस्थालाई दीगो रुपमा सञ्चालन गर्दै पूर्वीय वैदिक सभ्यता र संस्कृतिको अध्ययन-अनुसन्धान गर्ने स्थलको रुपमा विकसित गर्ने लक्ष्य पूरा गर्न सकोस् भन्ने कामना पनि उनले गरे ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३१ का वडासदस्य देवेन्द्रराज अधिकारीले ज्येष्ठ नागरिकको सम्मान भनेको सबैको सम्मान भएको भन्दै यसलाई धेरैले भुल्दै गएको बताए ।
जबसम्म ज्येष्ठ नागरिकको आदर, सेवा र संरक्षण गरिँदैन तबसम्म समाजले आफ्नो मूल्य, नैतिकता र संस्कार संरक्षण गर्न नसक्ने उनले बताए ।
ज्येष्ठ नागरिकलाई सम्मान गर्नु, उनीहरुका कुरा सुन्नु र उनीहरुका जीवनका अनुभवलाई भावी पुस्तामा हस्तान्तरण गर्न आवश्यक रहेको उनले बताए ।
जेष्ठ नागरिक सरोकार समाज कास्की अध्यक्ष पद्मराज अधिकारीकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सञ्चालन राममणि अधिकारीले गरेका थिए ।
Copyright © 2024 | All rights reserved.