साउन ०३, २०८२, शुक्रबार

अमेरिकाको अलास्कामा शक्तिशाली भूकम्प, तटीय क्षेत्रमा सुनामी चेतावनी


clock icon 14 hours, 54 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा । अमेरिकी राज्य अलास्कामा भूकम्पको शक्तिशाली झट्का महसुस गरिएको छ । रेक्टर स्केलमा भूकम्प ७दशमलव३ को थियो । यसपछि राज्यको तटीय क्षेत्रहरूमा सुनामी चेतावनी जारी गरिएको छ । यद्यपि, केही घण्टा पछि यसलाई फिर्ता लिइएको छ ।

अमेरिकी राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार, अलास्काको पोपोफ टापुको स्यान्ड पोइन्ट नजिकै भूकम्प गएको थियो । यसको केन्द्रबिन्दु जमिनबाट ३६ किलोमिटर तल थियो । यद्यपि, अहिलेसम्म कुनै हताहतको समाचार छैन ।

अलास्का भूकम्प एजेन्सीका अनुसार, एक हप्तामा यहाँ लगभग ४०० भूकम्प रेकर्ड गरिएको बताइएको छ । मिशिगन टेक्नोलोजिकल युनिभर्सिटीका अनुसार, ७.० देखि ७.९ म्याग्निच्युडको भूकम्पलाई क्षति पुर्‍याउन सक्षम मानिन्छ । अलास्कामा हरेक वर्ष लगभग १०-१५ वटा यस्ता भूकम्पहरू रेकर्ड गरिन्छन् ।

अमेरिकी भूगर्भ सर्वेक्षणले स्यान्ड पोइन्टको दक्षिणमा गएको भूकम्प प्रशान्त महासागर र उत्तर अमेरिकी प्लेटहरू बीचको सबडक्शन जोनमा वा नजिकै थ्रस्ट फल्टिङका कारण भएको बताएको छ ।

अलास्का अमेरिकाको भूकम्पीय रूपमा सक्रिय राज्य हो, जहाँ विश्वको लगभग ११ प्रतिशत भूकम्प जान्छ र अमेरिकामा जाने सबै भूकम्पहरूको १७.५ प्रतिशत हुन्छ । अलास्का प्यासिफिक रिङ अफ फायरको भाग हो, जुन बारम्बार भूकम्प र सक्रिय ज्वालामुखीहरूको लागि परिचित छ।

अलास्का मार्च १९६४ मा ९.२ म्याग्निच्युडको भूकम्पको चपेटामा परेको थियो, जुन उत्तर अमेरिकामा अहिलेसम्म रेकर्ड गरिएको सबैभन्दा शक्तिशाली भूकम्प थियो । भूकम्पले एन्कोरेज शहरलाई तहसनहस पारेको थियो। पछि सुनामी आयो, जसले अलास्काको खाडी, अमेरिकी पश्चिम तट र हवाईलाई विनाश गर्यो ।-एभरेष्ट न्यूज एजेन्सी

Copyright © 2024 | All rights reserved.