साउन ०४, २०८२, शनिबार

गान्जीको सौन्दर्य पोखरामा हेर्न पाइने


clock icon 17 hours, 34 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । चीनको पश्चिम सिचुवान प्रान्तमा पर्ने गान्जी तिब्बतीयन अटोनोमस प्रिफेक्चरको सौन्दर्य पोखरामा हेर्न पाइने भएको छ ।

अनुपम प्राकृतिक दृश्य, तिब्बतीयन संस्कृति भएको गान्जीमा उच्च स्थानमा रहेका उपत्यका, हिउँले ढाकिएका पर्वत, ठूला घाँसे मैदान र घना जंगल छन् ।

गान्जी तिब्बतीयन अटोनोमस प्रिफेक्चर माउन्टेन टुरिजम प्रमोसन प्वाइन्ट कार्यक्रम अन्तर्गत गान्जीका तस्बिरहरु बिहीबारबाट पोखराको रातोपहिरोमा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा राखिएका छन् । नेपाल नेसनल पभेलियन (चाइना)को सहयोगमा राखिएका गान्जीका तस्बिरहरु अबको छ महिनासम्म प्रदर्शनीमा राखिनेछन् ।

पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले प्रदर्शनी शुरुआत गरिन् । उनले नेपाल र चीनको सम्बन्धलाई यस्ता कार्यक्रमले थप मजबुत पार्ने उल्लेख गरिन् । 

गान्जी प्रिफेक्चर कमिटी अफ द कम्युनिस्ट पार्टी अफ चाइनाको सेक्रेटरी चेन बोताउले नेपालीहरुलाई गान्जी भ्रमण गर्न निम्तो दिए । उनले भने, ‘नेपाल जस्तै हिमाल, ताल, झरना भएको गान्जी भ्रमणका लागि यहाँहरुलाई निम्तो छ ।’

संग्रहालयकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले यथाशक्य संसारभरीका हिमाल, पर्वत र पर्वतारोहणबारे जानकारी दिन सक्ने गरी संग्रहालयलाई समृद्ध बनाउँदै लगिने बताइन् । 

पोखराको प्रमुख पर्यटकीय गन्तव्यमा पर्ने यो संग्रहालय वर्षमा दुई लाखभन्दा बढीले भ्रमण गर्ने गरेका छन् । कार्यक्रममा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय समिति सदस्य शेषकान्त शर्मा र धर्मराज पन्थीले पनि बोलेका थिए । 

Copyright © 2024 | All rights reserved.