साउन ०४, २०८२, शनिबार

लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ गण्डकीको स्थापना दिवसमा वृक्षरोपण


clock icon 9 hours, 29 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । नेपाली कांग्रेसको भातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ गण्डकी प्रदेश समितिले वृक्षरोपण गरेर २८औं स्थापना दिवस मनाएको छ । 

पोखरा महानगरपालिका वडा नं १८ ग्यारजातीस्थित राष्ट्रिय विभूति तथा शहीद पार्क परिसरमा विभिन्न जातका करिब एक सय २० वटा बिरुवा रोपेर महासंघको स्थापना दिवस मनाइएको हो । 

त्यस अवसरमा बेल, अमला, निमपत्ता, बाँससहित विभिन्न जातका फलफूलका बिरुवा रोपिएको थियो । “आदिवासी जनजातिको अधिकार, लोकतन्त्रको सान, जंगल जमिनको सम्मान, हाम्रो मान” भन्ने नारासहित आयोजित कार्यक्रममा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ कास्कीले सहकार्य गरेको थियो । 

कार्यक्रम उद्घाटन गर्दै कांग्रेस केन्द्रीय सदस्य गुरु बरालले जनजाती महासंघले स्थापना दिवसमा रचनात्मक कार्यक्रम गरेकोमा खुशी प्रकट गरे । उनले कांग्रेसका भातृ र शुभेच्छुक संस्थाको सक्रियता बढेमा संगठन बलियो हुनु भन्दै पार्टी र सम्बन्धित संस्थाको जिम्मेवारीमा रहेकाहरु गम्भीर हुनुपर्नेमा जोड दिए ।

उनले समग्र मुलुक, नेपाल र नेपालीका लागि सङ्घर्ष गरेको आदिवासी जनजाति समुदायले आफ्नै अधिकारका लागि लड्नुपर्नेमा जोड दिए ।

महासंघका गण्डकी प्रदेश समिति अध्यक्ष जितबहादुर गुरुङले श्रद्धेय नेता गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको अन्तरिम संविधानमा आदिवासी जनजाति, महिला, दलित र श्रमजीवी वर्गको हक अधिकार सुनिश्चित भएको भन्दै जाति, भूगोल, भाषा र भेषको आधारमा पहिचान, प्रतिनिधित्व र पहुँचमा पुर्याउन नेपाली कांग्रेसले नै उत्कृष्ट भूमिका निर्वाह गरेको बताए ।

महासंघका गण्डकी प्रदेश अध्यक्ष गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शारदा पौडेल, नेपाली कांग्रेस गण्डकी प्रदेशका कार्यबाहक सभापति कल्पना तिवारी, जनजाती महासंघका केन्द्रीय सदस्य खेम गुरुङ, नेपाली कांग्रेसका गण्डकी प्रदेश सदस्य सीता गुरुङ, कास्की जिल्ला सभापति किशोर बराल, जनजाती महासंघका कास्की जिल्ला अध्यक्ष आशबहादुर गुरुङलगायतले बोलेका थिए । कार्यक्रमको संचालन महासंघ गण्डकी प्रदेशका सहप्रवक्ता तोत्रमान गुरुङले गरेको थिए ।

वि.सं २०५५ सालको साउन २ गते सूर्यमान गुरुङको अध्यक्षतामा स्थापना गरिएको नेपाल आदिवासी जनजाति संघको विधान २०७९ मा संशोधन गरिएपछि नेपाल आदिवासी जनजाति संघको सांगठनिक संरचना परिवर्तन गरिएको थियो त्यसपछि आदिवासी जनजाती संघलाई महासंघको संरचनामा परिवर्तन गरिएको हो । महासंघको संरचनामा गएपछि संघ स्थापना भएको दिन साउन २ गते स्थापना दिवस मनाउने गरिएको छ । 

Copyright © 2024 | All rights reserved.