0
प्रतिक्रिया
पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ र मनसुनको न्यून चापीय रेखा पश्चिम र मध्य नेपालमा सरदर स्थानभन्दा उत्तरतिर तथा पूर्वमा सरदर स्थानको आसपासमा रहेको जनाएको छ ।
जसको प्रभावले गण्डकी प्रदेशको राजधानी पोखरामा गएराति भारी वर्षा भएको छ । कास्कीको लुम्ले क्षेत्रमा आज बिहान करिब ५ बजेतिर भारी वर्षा भएको बताइएको छ ।
पोखरामा शनिबार दिउँसो ४ बजेदेखि आइतबार बिहान ७ बजेसम्म वर्षा निरन्तर जारी छ । शनिबार साँझ मेघगर्जन, चट्याङसहित भारी वर्षा भएको थियो। पोखरामा आज दिनभर पनि वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पोखराको आज बिहानको तापक्रम २४ डिग्री सेल्सियस रहेको छ भने आज दिउँसो अधिकतम् तापक्रम २७ डिग्रीसम्म पुग्ने प्रक्षेपण गरिएको छ ।
हाल गण्डकी, बागमती र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । साथै गण्डकी, कोशी, बागमती र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ भने गण्डकी, कोशी, मधेस, बागमती र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागका धेरै स्थान तथा बाँकी भूभागका केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै गण्डकी, कोशी र बागमती प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ भने देशको उच्च-पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा-हिमपातको सम्भावना छ ।
आगामी २४ घण्टा सम्भावित वर्षाको कारणले भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जन-जीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाले सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा अनुरोध गरेको छ ।
Copyright © 2024 | All rights reserved.