0
प्रतिक्रिया
पोखरा । कास्कीको लुम्लेमा पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा मापन गरिएको छ । लुम्लेमा दुई सय १५ दशमलव आठ मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार लुम्लेपछि सबैभन्दा बढी वर्षा धनकुटाको त्रिवेणीमा भएको छ । त्रिवेणीमा एक सय ९५ मिलिमिटर वर्षा भएको छ ।
यस्तै माईपोखरीमा एक सय ८१दशमलव२ मिलिमिटर र मछुवाघाटमा एक सय ७३दशालव२ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ ।
एक दिनमै एक सयदेखि दुई सय मिलिमिटर वर्षा हुँदा त्यसलाई भारी वर्षा भन्ने गरिन्छ । यस्तै २४ घण्टाको अवधिमा दुई सय मिलिमिटरभन्दा बढी पानी परेमा त्यसलाई अतिभारी वर्षा भनिन्छ ।
यसैगरी ५० मिलिमिटरदेखि एक सय मिलिमिटरसम्मलाई सामान्य, १० मिलिमिटरदेखि ५० मिलिमिटरसम्मलाई मध्यम र १० मिलिमिटरभन्दा कमलाई हल्का वर्षाका रूपमा वर्गीकरण गरिन्छ ।
अहिले पनि मधेशबाहेक सबै प्रदेशका विभिन्न जिल्लामा वर्षा भइरहेकाले आवश्यक सतर्कता अपनाउन मौसम महाशाखाले आग्रह गरेको छ ।
गण्डकीमा भारी वर्षासँगै पर्वतमा पहिरोले घर पुरिँदा एक दम्पतीको ज्यान गएको छ । साथै पोखरा २० पिपलडालीस्थित सूर्य बास्तोलाको घर पुरिएर बस्नै नमिल्ने भएको छ । यस्तै पोखरा १३ काहुँखोलाले धार परिवर्तन गर्दा एक घरमा क्षति पुगेको छ ।
कास्की प्रशासनले कास्कीको पर्यटकीय क्षेत्र र सिद्धार्थ राजमार्गमा रातिको समयमा सवारी चलाउन रोक लगाएको छ ।
Copyright © 2024 | All rights reserved.