साउन ०६, २०८२, सोमबार

प्रजातान्त्रिक विचार समाजको वक्तृत्वकलामा जस्मिन र सुस्मिता प्रथम


Advertisement Image
clock icon 8 hours, 19 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पोखरा । साहित्यकार एवं जननायक विश्वेश्वरप्रसाद कोइरालाको ४३औँ स्मृति दिवसको अवसर पारेर प्रजातान्त्रिक विचार समाज कास्कीले आयोजना गरेको विद्यार्थी लक्षित वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको  । 

‘वर्तमान सन्दर्भमा वीपी कोइरालाको प्रजातान्त्रिक समाजवाद’ शीर्षकमा भएको प्रतियोगिताअन्तर्गत कक्षा ११ र १२ तर्फ जस्मिन रानाभाट प्रथम, अदीति पराजुली द्वितीय, गीता किसान तृतीय र स्मृति लम्सालले सान्त्वना स्थान हासिल गरिन् ।

प्रथम हुन सफल रानाभाटले सात हजार, पराजुलीले पाँच हजार, किसानले तीन हजार र लम्साले एक हजार पाँच सय रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

यसैगरी विश्वविद्यालयका क्याम्पसतर्फ सुस्मिता चौधरी प्रथम, स्वस्तिका क्षेत्री द्वितीय, वृन्दा सुवेदी तृतीय र विप्लवी न्यौपानेले सान्त्वना स्थान हासिल गरिन् ।

प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः सात हजार, पाँच हजार, तीन हजार र एक हजार पाँच सय राखिएको थियो ।

प्रतियोगितामा कास्कीका कक्षा ११ र १२ तर्फका २६ जना तथा विश्वविद्यालयतर्फ विभिन्न क्याम्पसका २१ जना गरी जम्मा ४७ जना सहभागी थिए ।

प्रतियोगितामा प्राडा जगन्नाथ रेग्मी, उपप्राध्यापक वेदहरि तिमिल्सिना, उपप्राध्यापक बिन्दु पौड्याल र उपप्राध्यापक कृष्णप्रसाद त्रिपाठी निर्णायकको भूमिकामा थिए ।

कार्यक्रममा वक्ताले बीपी कोइरालाले परिकल्पना गरेको प्रजातन्त्र, राष्ट्रियता र समाजवादलाई वर्तमानमा नेतृत्व गर्नेहरूले पालना गर्ने हो भने देश सुशासन र समृद्धितर्फ अघि बढ्ने ठोकुवा गरेका थिए । 

विद्यार्थीहरूले वीपीको देश सुहाउँदो शासन व्यवस्था, भ्रष्टाचारमुक्त शासन प्रणाली, समतामूलक समाजको निर्माण र उत्पादन तथा वितरणमा समान सहभागिता भन्ने मान्यता आजका सन्दर्भमा सार्थक रहेको धारणा व्यक्त गरे । सहमति, मेलमिलाप र सहकार्यलाई आत्मसात नगर्दा धेरै समस्या आएकोतर्फ पनि उनीहरुले संकेत गरे ।

कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व एवं विश्लेषक विश्व सिग्देलले आलोचनात्मक सोच र निरपेक्ष भएर बुझ्न सक्ने सामथ्र्यबाट नै असल व्यक्ति बन्न सकिने धारणा राखे ।

कार्यक्रममा जनप्रिय क्याम्पस संचालक समिति अध्यक्ष वीरेन्द्रनारायण बिजुक्छे, प्राडा कुसुमाकर न्यौपाने, गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेल, विचार समाजका पूर्व अध्यक्ष धर्म अधिकारी, प्रा. पदमशरण रेग्मी, पूर्व केन्द्रीय सदस्य हेरम्बप्रसाद कोइराला, सूर्यभक्त सिग्देललगायतले प्रजातान्त्रिक विचार नै विश्वको सर्वोत्तम दर्शन भएको बताए ।

उनीहरुले विद्यार्थीलगायत युवा वर्गलाई राष्ट्र र समाजप्रति सकारात्मक भाव जगाउन पनि यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने भएकाले यस प्रकारका कार्यक्रमको निरन्तरताको कामना गरे ।

कार्यसमिति प्रमुख शिशुकला पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष नारायणसिंह गुरुङले स्वागत र सचिव डा. विष्णुप्रसाद शर्माले सहजीकरण गरेका थिए ।

Copyright © 2024 | All rights reserved.