0
प्रतिक्रिया
पोखरा । नेपाली कांग्रेसका अगुवा एवं समाजसेवी हरिप्रसाद ढुंगानाको बिहीबार निधन भएको छ । ढुंगाना प्रतिष्ठान नेपालका आजीवन सदस्यसमेत रहेका हरिप्रसादको ७३ वर्षको उमेरमै बिहीबार दिउँसो निधन भएको हो ।
पोखरा महानगरपालिका वडा नं २६ तालबेशी निवासी हरिप्रसादका श्रीमती गोमा लामिछाने, दुई छोरा डा. पद्यराज र सूर्य तथा छोरी कमला ढुंगाना भुर्तेल छन् ।
स्व. हरिप्रसादको बिहीबार नै पोखराको सेतीनदीस्थित रामघाटमा अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री यज्ञबहादुर थापा, महाधिवेशन प्रतिनिधि गिरिराज गौतम, गण्डकी प्रदेश आमन्त्रित सदस्य चन्द्रबहादुर रानाभाट, पोखरा-२६ का इकाई सभापति शिवबहादुर रानाभाट, वडासदस्य सुदिपराज ढुंगानालगायतले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।
यसैबीच पोखरा-२६ का जनप्रतिनिधि एवं पोखरा दर्पण डटकमका अध्यक्ष सुदिपराज ढुंगानाले हरिप्रसादको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले स्व.हरिप्रसाद कर्मठ, खुला हृदय भएका र स्पष्टवक्ता थिए भन्दै स्मरणसमेत गरेका छन् ।
उनले हरिप्रसादको निधनले अपूरणीय क्षति पुगेको र यसले आफू निकै मर्माहत भएको समवेदना सन्देशमा उल्लेख गरे ।
यता, नेपाली कांग्रेस कास्की क्षेत्र नं १ का सचिव सरोज केसीले कांग्रेसका क्रियाशील सदस्य एवं अगुवा ढुंगानाको निधनप्रति दुःख व्यक्त गर्दै नेपाली कांग्रेसका लागि अपूरणीय क्षति पुगेको जनाएका छन् ।
केसीले स्व. हरिप्रसादप्रति श्रद्धाञ्जली व्यक्त गर्दै ढुंगाना परिवारमा समवेदना व्यक्त गरेका छन् ।
Copyright © 2024 | All rights reserved.