0
प्रतिक्रिया
पोखरा । पोखरा महानगरपालिका वडा नं २९ स्थित दीपशिखा सामुदायिक पुस्तकालयमा यस वर्ष ‘टेक एज युथ’ परियोजना सञ्चालन गरिने भएको छ । परियोजना सञ्चालनका लागि रिड नेपाल र पुस्तकालय बीच बिहीबार सम्झौता भएको छ ।
पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारी र रिड नेपालकी कार्यक्रम संयोजक भाग्यश्री विष्टको उपस्थितिमा उक्त सम्झौचा गरिएको हो ।
सम्झौता अनुसार परियोजनाबाट प्रत्यक्ष रुपमा ५५ जना लाभान्वित हुने बताइएको छ । जसमा लक्षित समुदायका विद्यालयबाट पिछडिएका, प्रविधिको पहुँच नपुगेका १३ देखि २२ वर्षसम्मका अध्ययन गर्दै वा अध्ययन गर्न छोडेका किशोरकिशोरी र फरक क्षमता भएका व्यक्तिसमेत समेटिने छन् ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङ्गले वडाको तर्फबाट सहयोग गर्न तयार रहेको बताए ।
अध्यक्ष भण्डारीले उक्त कार्यक्रमका लागि आठ लाख रुपैयाँ खर्च हुनेछ । जसमा परियोजनाले चार लाख बराबरको खर्च गर्ने र बाँकी चार लाख पुस्तकालयले व्यवस्था गर्नुपर्ने भएकाले स्थानीय तह र संघसंस्थाले सहयोग गर्ने अपेक्षा गरेको बताए ।
पोखरा महानगरपालिकाका कार्यपालिका सदस्य निर्मला पौडेल, लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरि पौडेल, जनप्रकाश माविका प्रधानाध्यापक शेखरनाथ शर्मा, गोगन माविका प्रधानाध्यापक मोहनराज बराल, पुस्तकालय व्यवस्थापन समिति पदाधिकारी र कर्मचारी कार्यक्रममा सहभागी थिए ।
कार्यक्रम सञ्चालन पुस्तकालयका सचिव पदमप्रसाद अधिकारीले गरेका थिए ।
Copyright © 2024 | All rights reserved.