0
प्रतिक्रिया
पोखरा । कास्कीको पर्यटकीय गाउँ धम्पुसका बाटा फराकिलो र कालोपत्र हुने भएको छ । योसँगै हेमजादेखि फेदीसम्म पुग्ने फराकिलो र नमुना बाटोबाट साँघुरो र ठाउँठाउँमा कच्ची बाटो हुँदै यात्रा गर्नुपर्ने सकस छिट्टै अन्त्य हुने भएको हो ।
माछापुच्छे्र गाउँपालिका वडा नं ७ घट्टेखोलाबाट धम्पुस हुँदै खानीगाउँ पुग्ने सडक स्तरोन्नति शुरुआत गरिएको छ । यो सडक ३० करोड १८ लाखमा स्तरोन्नति हुन लागेको हो ।
नेपाल सरकार र एशियाली विकास बैंकको सहयोगमा उक्त सडक निर्माण हुन लागेको हो । गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले सडक स्तरोन्नतिको शुभारम्भ गरे ।
१३ दशमलव तीन किलोमिटर लामो यो सडकको पहिलो सात किलोमिटरसम्म अस्फाल्ट पिच गरिनेछ भने बाँकी ६ दशमलव ३ किमी सडकमा डिबिएसटी प्रविधिबाट कालोपत्र हुनेछ ।
ग्रामीण सडक सञ्जाल सुधार आयोजनामार्फत् बन्ने उक्त सडकको काम दुई वर्षभित्र सक्ने गरी २०८१ फागुन २१ मा सम्झौता भएको थियो । यो सडकको लागत ५१ करोड ९८ लाख भए पनि एमएस इकेके–एमसिएसपिएल–बिबिआर जेभीले करिब ४० प्रतिशत घटेर ३० करोड १८ लाखमा सम्झौता गरेको छ ।
भौतिक पूर्वाधार मन्त्री केसीले पर्यटकीय गाउँ धम्पुससम्म पक्की सडक बनेपछि सो क्षेत्रको पर्यटनसहित सबै पक्षमा सकारात्मक प्रभाव पर्ने जनाए । सडक निर्माणको गुणस्तरमा सम्झौता नगर्न निर्माण व्यवसायीलाई निर्देशन दिए ।
उनले भने, ‘कतोकिएको समयमै निर्माण सक्नुहोला, ४० प्रतिशत घटेर ठेक्का भएको छ, गुणस्तरमा सम्झौता हुन नदिनका लागि विशेष ख्याल राख्नुहोला ।’
यो सडक निर्माणले स्थानीय अर्थतन्त्र, रोजगारी, तथा सेवा प्रवाहमा समेत प्रत्यक्ष प्रभाव पार्ने उनको विश्वास छ । मन्त्रालयले सडकको नियमित अनुगमन गरी समयमै आयोजना सम्पन्न गर्ने वातावरण तयार गर्न भूमिका निर्वाह गर्ने उनले जनाए । ग्रामीण सडक सञ्जाल सुधार आयोजना प्रमुख लक्ष्मीप्रसाद भण्डारीले यो सडकले सो क्षेत्रमा बहुआयामिक महत्व राख्ने उल्लेख गर्दै समयमै काम सक्ने गरी लाग्न र गुणस्तरमा सम्झौता नगर्न अनुरोध गरे ।
निर्माण कम्पनी एमएस इकेके–एमसिएसपिएल–बिबिआर जेभीमका प्रतिनिधि अनिल घिमिरले शुत्रबारबाटै सडक निर्माण सुरु गरी समयमै सम्पन्न गर्ने वाचा गरे । उनले सडक निर्माणमा आइपर्ने समस्या सुल्झाउन स्थानीयबासी, जनप्रतिनिधि, प्रशासनलगायतको सहयोगको अपेक्षा गरे ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य गणेशमान गुरुङ, माछापुच्छे्र गाउँपालिका उपाध्यक्ष सीता अधिकारी, भौतिक मन्त्रालयका सचिव कमलकुमार अधिकारी, धम्पुस मोटरबाटो सहयोग समितिका संयोजक जगन गुरुङलगायतले बोलेका थिए ।
माछापुच्छ्रे गाउँपालिका वडा नं ७ का वडाध्यक्ष बैकुण्ठ भण्डारीले मापदण्ड बमोजिमको गुणस्तरीय सडक बनाउन आवश्यक जग्गा प्रदान गर्न र सहजीकरण गर्न स्थानीयलाई आग्रह गरे ।
‘यो बाटो बन्नुमा सबैभन्दा बढी जस स्थानीयलाई जान्छ, जसले जग्गा दिनुभयो,’ उनले भने, अब स्तरोन्नतिमा पनि यहाँहरुको उस्तै साथ मिल्ने अपेक्षा छ । यो सडक स्तरोन्नति भएपछि धम्पुससहित यो क्षेत्रकै समृद्धिमा टेवा पुग्ने उनले अपेक्षा गरे ।
Copyright © 2024 | All rights reserved.