साउन १५, २०८२, बुधबार

चीनको बेइजिङ क्षेत्रमा भारी वर्षा, अहिलेसम्म ३४ जनाको मृत्यु


Advertisement Image
clock icon 17 hours, 41 minutes ago
comment icon 0
comment

0

प्रतिक्रिया

पाेखरा । चीनको राजधानी बेइजिङ र वरपरका क्षेत्रमा भारी वर्षा र बाढीका कारण अहिलेसम्म ३४ जनाको मृत्यु भएको छ । चीनको सरकारी टिभी च्यानल सीसीटीभीका अनुसार बेइजिङको मियुन जिल्लामा २८ जना र याङ्किङ जिल्लामा २ जनाको मृत्यु भएको छ । यी दुवै क्षेत्र शहरको बाहिरी इलाकामा अवस्थित छन् ।

बाढीका कारण बेइजिङबाट ८० हजारभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ । यीमध्ये करिब १७ हजार मियुन जिल्लाका छन् । निरन्तर वर्षाका कारण मंगलबार बिहानसम्म बेइजिङका केही भागहरूमा ३० सेन्टिमिटरसम्म पानी परेको बताइएको छ ।

बेइजिङसँग जोडिएको हेबेई प्रान्तको लुआनपिङ काउन्टीमा सोमबार पहिरो जादा ४ जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता छन्। स्थानीय मानिसहरूले उक्त क्षेत्रमा नेटवर्क डाउन भएको र सञ्चार कठिन भएको बताएका छन् ।

बेइजिङ प्रशासनले उच्चस्तरीय आपतकालीन अवस्था घोषणा गरेको छ । यसअन्तर्गत सबै विद्यालयहरू बन्द गरिएका छन् । निर्माण कार्य र बाहिरी गतिविधिहरूमा पनि प्रतिबन्ध लगाइएको छ ।

चिनियाँ सरकारले हेबेई प्रान्तमा ५ करोड युआनको आपतकालीन सहायता पठाएको छ । यसका साथै चेङ्दे, बाओडिङ र झाङजियाकोउ जस्ता प्रभावित शहरहरूमा राहत कार्यका लागि केन्द्रीय टोलीहरू पठाइएको छ ।

यसअघि प्रशासनले मियुन जिल्लाको प्रमुख जलाशयबाट पानी छोड्ने निर्णय गरेको थियो । यो १९५९ मा निर्माण गरिएको थियो । त्यसबेलादेखि, यसको पानीको स्तर पहिलो पटक उच्चतम पुगेको थियो ।-एभरेष्ट न्यूज एजेन्सी

Copyright © 2024 | All rights reserved.