0
प्रतिक्रिया
पोखरा । पोखरामा पहिलो पटक आरयु फेष्ट आयोजना गरिएको छ । पोखरा महानगरपालिकासँगको सहकार्यमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को आर्थिक सहयोग तथा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडीपी) को प्राविधिक सहयोगमा पोखरामा सञ्चालित रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जना परियोजनाअन्तर्गत आरयु फेष्ट शुक्रबारदेखि सुरु भएको हो ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फोहोरलाई खजना (मोहोर) बनाउने मूल मन्त्रसहित फेस्टिभल शुभारम्भ गरिएको बताए ।
पोखरालगायत सिङ्गो मुलुकको हरित विकासका लागि एक नवीनतम प्रयासका रूपमा फेस्टिभल स्थापित हुने अपेक्षा गरिएको छ । फेस्टिभलले सृजनशीलता, नवप्रवर्तन र दिगोपनाका लागि हातेमालो गर्दै वातावरणमैत्री र सुरक्षित भविष्य निर्माणमा सघाउने उनको विश्वास छ ।
“प्रयोगहीन सामग्रीलाई रिसाइक्लिङ र अफसाइक्लिङ गरी हरित रोजगारी सिर्जना गर्दै चक्रीय अर्थतन्त्रको निर्माणमा यो महत्वपूर्ण सिकाइ बन्न सक्छ, फेस्टिभलमार्फत नयाँ ज्ञान, सीप र मार्गदर्शन प्राप्त हुन सक्छ’, नगर प्रमुख आचार्यले भने, ‘यसले उद्यमशीलता र रोजगारी सिर्जनामा योगदान गर्नेछ ।”
कोइकाका कन्ट्री डिरेक्टर मोहेओन कोङ्ले विश्व बजारमा हरित रोजगारी सिर्जना निकै महत्वपूर्ण र वातावरण तथा पर्यावरणीय दृष्टिले निकै अर्थपूर्ण हुने बताए ।
पोखरामा सञ्चालित परियोजनामार्फत हजारौँ रोजगारी सृजना हुने र चक्रीय अर्थतन्त्रमार्फत उद्यमशीलता र आयआर्जनमा वृद्धि हुने विश्वास व्यक्त गरे ।
कोइका एक बलियो साझेदारका रूपमा पोखराको साथमा उभिएको उनले बताए । सो अवसरमा उनले पोखरामा एक सुविधा सम्पन्न जलनसम्बन्धी उपचारका लागि डेडिकेटेड अस्पताल निर्माणका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत जनाए ।
युएनडीपीका प्रतिनिधि जुलियन चेभीलार्डले रिसाइकल र अपसाइकल मात्र उत्पादित वस्तुको बजार राम्रो रहेको उल्लेख गर्दै यसले आर्थिक सशक्तीकरणमा योगदान गर्ने बताए ।
महिला तथा सीमान्तकृत समुदायलाई जीविकोपार्जनको बलियो आधारका रूपमा हरित रोजगारी सिर्जना र चक्रीय अर्थतन्त्रको विकासमा समेत यसले टेवा पुग्ने उनले बताए । पर्यटकीय राजधानी पोखरामा यसको अझ बढी महत्व र प्रभावकारिता रहने उल्लेख गरे ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता एवं सहसचिव कालीप्रसाद पराजुलीले विकास साझेदारहरूको निरन्तर सहयोगमा नेपालले रोजगारी सृजना र उद्यमशीलता विकासमा थुप्रै कार्यक्रम सञ्चालन गरिरहेको बताए ।
नेपाल सरकार आफ्नो आन्तरिक बाहेक विकास साझेदारसमेतको सहयोगमा स्थानीय विकासलाई दिगो र परिणाममुखी बनाउने कार्यमा लागिरहेको उनले बताए ।
फेस्टिभलमा देशभरिका नवप्रर्तनयुक्त रिसाइक्लिङ र अपसाइक्लिङ उत्पादनको प्रदर्शनी, फोहोरलाई उपयोगी वस्तुमा रूपान्तरण गर्ने प्रक्रियाको प्रत्यक्ष प्राविधिक डेमो सो, जलवायु, दिगो पर्यटन विकास, हरित उद्यमशीलता र प्लास्टिक टू रोड प्रविधिमाथि संवाद, युवाका लागि सिर्जनात्मक कार्यशाला, सार्वजनिक कला प्रदर्शनी, सहभागितामूलक गतिविधि प्रस्तुत, दक्षिण कोरियाको सफलता अनुभवमाथि विशेष संवाद शत्र, हरित रोजगारी, बजार पहुँच र दिगो जीविकोपार्जनका उपायलगायत विषयमाथि चर्चा परिचर्चा भइरहेको छ ।
हाल रिसाइक्लिङ र अफसाइक्लिङमार्फत हरित रोजगारी सिर्जना परियोजना अन्तरगत कोइकाको ९दशमलव८ मिलियन अमेरिकी डलर र युएनडीपीले ०दशमलव८७ मिलियन अमेरिकी डलर आर्थिक सहयोगमा पोखरामा जीभीजेड सेन्टर निर्माण भइसेको छ ।
नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा कोसेली घर निर्माणको काम भइरहेको छ । पोखरा महानगरपालिका क्षेत्रमा एक सय ३६ वटा सामुदायिक समूह निर्माण गरी उनीहरूलाई आवश्यक तालिम तथा प्राविधिक प्रशिक्षण पनि प्रदान गरिएको छ ।
“यस परियोजनाले युवालाई रोजगारीसँग जोड्ने छ भने हरित अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान गर्नेछ”, नगर प्रमुख आचार्यले भने ।
फोहोर मैलाको उचित व्यवस्थापन मार्फत हरित रोजगारी सृजना र चक्रीय अर्थतन्त्रको सृजनशील उपयोग आम समुदायका लागि निकै महत्त्वपूर्ण हुने विश्वास गरिएको छ ।
हरित अर्थतन्त्रमा योगदान पुर्याउने आरयू उद्यमलाई बढवा दिन दिगो नीतिको सुनिश्चिततासहित महानगरपालिकाले परियोजनाको स्वामित्वमा लिनेछ । परियोजनामार्फत आगामी दुई वर्षमा तीन हजार रोजगारी सृजना गर्ने लक्ष्य राखिएको छ ।
फेस्टिभल उत्सुक विद्यार्थी, उद्देश्यमूलक उत्पादन, दूरदर्शी नीति निर्माता र जिज्ञासु नागरिकका लागि यो फेस्टिभल सहकार्य, सृजनशीलता र सकारात्मक कदमको साझा मञ्च बन्नेछ ।
पर्यटकीय राजधानी पोखरालाई हरित, दिगो र स्मार्ट बनाउने यात्रामा हातेमालो गर्न पोखरा महानगरपालिकाले आम पोखरेलीलाई सार्वजनिक आह्वानसमेत गरेको छ ।
Copyright © 2024 | All rights reserved.